तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर नगरपालिकाको ७३ करोड ९२ लाखको बजेट पारित


भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम एवम् ७३ करोडभन्दा बढीको बजेट पारित गरेको छ ।

बुधबार शुरु भएको छैठौं नगरसभामा नगरप्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवम् उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रस्तुत गरेको बजेट आज छलफलपछि पारित गरिएको हो ।

सभामा उपप्रमुख श्रेष्ठले ७३ करोड ९२ लाख ८१ हजार ६१० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सो बजेटमा संघीय सरकारबाट सोझै भुक्तानी हुने सामाजिक सुरक्षा भत्ता र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम समावेश नरहेको उपप्रमुख श्रेष्ठले स्पष्ट पार्नुभयो ।

बजेटमा आन्तरिक आम्दानीतर्फ ४ करोड ४६ लाख अनुमान गरिएको छ । त्यस्तै, संघीय सरकारबाट प्राप्त हने ४६ करोड २१ लख, प्रदेश सरकारबाट प्राप्त हुने ८० लाख २५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस महामारीका बीच नगरपालिकाले कोरोना महामारीको संभावित जोखिमसमेतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइएको छ ।

जिल्लाकै सदरमुकाम भएका कारण आन्तरिक तथा वाह्य पर्यटनलाई पनि ध्यानमा राख्दै नीति कार्यक्रम र बजेट निर्माण गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button