तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु गाउँपालिको नीति तथा कार्यक्रम

मेलम्ची । हेलम्बु गाउँपालिकाले गत वर्षदेखि दिँदै आएको एकल पुरुष भत्तामा शतप्रतिशत वृद्धि गरी रु १ हजार बनाएको छ । अन्य समुदायका ६० वर्ष र दलित समुदायका ५० वर्ष नाघेका एकल पुरुषका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

यसअघि कक्षा ५ सम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन हुँदै आएकामा आगामी आर्थिक वर्षबाट कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षकहरुका लागि समेत खाजाको व्यवस्था गरिने बुधबार अध्यक्ष निमाग्याल्जेन शेर्पाद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

चर्चित हेलम्बु हिमालय ग्रेट ट्रेल निर्माण कार्यलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । बुद्धपार्क– सेर्माथाङ– ज्योमथाङ– आमायाङ्ग्री– ढुक्पु्– भेमथाङ– पासाङसिरी– गुफुपोखरी– जलंसा– दवालाङगुफा– सेमिसिदाङ– भेयस्री– सोली– ठाडेपाटी– पाकेडाँडा– घोप्टेघ्याङसम्म हेलम्बु हिमालयन पदमार्ग निर्माण कार्य गत आ.व २०७५/०७६ मा वडा नं ६ घोप्टेघ्याङबाट १०५ मिटर निर्माण सम्पन्न भइसकेको र चालु आ.व २०७६/०७७ मा वडा नं २ शेर्माथानबाट १०० मिटर, प्रदेश सरकार र वडा नं ३ बुद्धपार्कबाट १०० मिटर गाउँपालिकाबाट निर्माण अवस्थामा रहेकामा त्यसलाई निरन्तरता दिदै लगिने उल्लेख छ । छिमेकि गाउँपालिका, देशै भरि रहेका स्थानीय तहहरु, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका हेलम्बुवासी तथा अन्य सम्पूर्ण नेपालीहरुलाई पनि सो गौरवको आयोजनामा लगानीका लागि हात बढाउन आह्वान गरिएको छ ।

कृषकहरुका लागि रासायनिक मलमा अनुदान, सुत्केरी पोषण भत्ताजस्ता विगतका लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । साना किसानहरुले कृषि, पशु तथा पर्यटन व्यवसायका लागि हेलम्बु गाउँपालिकाभित्रका बैँकबाट लिएको ऋण कोभिड १९ को कारणले व्याज तिर्न नसकेका कृषकहरुका लागि ३ महिनाको व्याज गाउँपालिकाले तिरिदिनको व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button