आन्तरिक राष्ट्रबादलाई कमजोर बनाउने गरी सदनमा धारणा नराख्न सांसदहरुको सुझाव

काठमाण्डौ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले जनतामा भ्रम फैलाउने गरी संसदमा अभिब्यक्ति दिन नहुने विषयमा जोड दिनुभएको छ ।
बैठकमा सांसद डा.बेदुराम भुषालले संविधान अनुसार नागरिकता सम्बन्धी कानुन निर्माण भएको अवस्थामा राष्ट्रिय सभामा सांसदहरुले अराजनीतिक, निराधार र गैर जिम्मेवार तर्क गरेको भन्दै त्यसमा आपत्ती प्रकट गर्नुभयो ।
सांसद प्रकाश पन्तले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउने, पिसिआर परीक्षणको दायरा बढाउने, विदेशमा रहेका नेपाली फिर्ता ल्याउनु पर्ने, अन्योलमा रहेका विद्यार्थीका लागि स्पष्ट योजना बनाउनु पर्ने, कृषि उपज र मलको प्रभावकारी प्रवन्ध गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भगवती न्यौपानेले नागरिकता विधेयकका विषयमा भएको भन्दा फरक रुपमा प्रतिपक्षीले भ्रम फैलाउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद शेखर कुमार सिंहले खेती गर्ने समयमा दुई नम्बर प्रदेशमा कृषि मलको समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामनारायण बिडारीले आन्तरिक राष्ट्रबादलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने गरी सांसदहरुले संसदमा धारणा राख्नु नहुने विषयमा जोड दिनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले प्रस्तुत गर्नु भएको “प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक असार ११ गते दिउसो १ वजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्