मल नपाउँदा पर्साका किसान चिन्तित
वीरगञ्ज । धान रोपाइको समयमा रासायनिक मलको अभाव भएपछि पर्साका किसानहरू चिन्तित भएका छन् ।
रोपाइको समयमा विशेष गरि डि ए पी, यूरिया र पोटास जस्ता रासायनिक मलको आवश्यकता पर्दछ । तर, अहिले बजारमा रासायनिक मल नहुदा किसानहरु मल खोज्दै भैतारिएका छन् ।
जिराभवानी गाउपालिका वडा नं १ बालुवाका किसान प्रभु मुखिया बिनले यूरिया मल खोज्दै तिन दिन बितेको बताउदै आज पटेर्वासुगौली गाउपालिका वडा नं ४ को सुगौलीमा मल पाए पनि प्रति बोरा एक हजार एक सय रुपैयामा खरिद गरेको बताउनु भयो । गाउँमा रहेका कृषि सहकारी संस्थामार्फत डिएपी तथा पोटास मल पाए पनि यूरिया मलको हाहाकार रहेको किसानहरुले गुनासो गरेका छन् ।
पटेर्वा सुगौली गाउपालिका वडा नं २ बेल्वा निवासी रामपुजन चौधरीले कृषि सहकारी संस्थाबाट मल लिन निकै कठिनाइ भोग्नु परेका गुनासो गर्नु भयो । मलको दाम एक साता पहिले नै सखुवा प्रसौनी गाउँपालिकाका देरवाना स्थित कृषि सहकारी संस्था जम्मा गरेका तर दुई साता बिते पनि मल नपाएको बताउनु भयो ।
अहिले साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनीले मल कृषि सहकारी संस्थालाई मल बितरण गर्दै आएका छन । यी कम्पनीहरुले यूरिया प्रति बोरा ७५० रुपैया र डिएपी मल प्रति बोरा २ हजार दुई सय रुपैया बिक्री मूल्य तोकेका छन तर बजारमा यूरिया प्रति बोरा एक हजार एक सय रुपैया र डिएपी मल प्रति बोरा दुइ हजार तीस सय रुपैया सम्ममा बिक्री भई रहेको छ ।
ठोरी गाउपालिका वडा नं ४ बिजयबस्तीका रामबहादुर श्रेष्ठले मल अभाव बढदै गएको र ठोरी गाउँपालिकाको लापरवाहीको कारण किसानहरु तोकेको मुल्य भन्दा बढीमा मल खरिद गर्न बाध्य भएको बताउनु भयो ।
कोरोना संक्रमणको कारण घोषित लकडाउनले भारतीय सिमाना सिल गरिएको हुँदा भारतबाट मलको आपूर्ति पूर्ण रुपमा रोकिएको हुँदा किसानहरु थप समस्यामा परेको श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्