सल्यानका स्थानीय तहको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र रोजगारी पहिलो प्राथमिकता

सल्यान । सल्यानका स्थानीय तहरुले स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।
महामारीको चपेटमा परेको बेला स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट विनियोजन गरी रोजगारी सिर्जनामा केन्द्रित भएको बताएका छन् ।
कोभिड–१९का विरुद्ध लड्नु गुणस्तरीय स्वास्थ्य सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यका साथ नगरले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो ।
उहाँले यो वर्ष धेरै महत्त्वाकाङ्क्षी नीति कार्यक्रम नल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घ र प्रदेशबाट पनि ठुला र महत्त्वाकाङ्क्षी योजनाभन्दा पनि कृषि, रोजगारी, शिक्षा जनसहभागिता हुने खालका कार्यक्रम निमार्ण गर्नु भन्ने आएकाले सोही अनुसार नीति तथा कार्यक्रम निर्माण भइरहेको छ ।’
दार्मा गाउँपालिकामा पनि यो वर्ष विगतभन्दा अलि भिन्न बजेट आउने बताइएको । विगतका वर्षहरूमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको भए पनि यो वर्ष उत्पादन, रोजगार र महामारी नियन्त्रणमा केन्द्रित हुने दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।
उहाँले कोरोना भाइरसले देशको अर्थतन्त्रलाई नै फरक ढङ्गले बुझ्नु पर्ने अवस्थामा पुर्याएको बताउँदै अबको प्राथमिकता कृषि र रोजगारी सिर्जनामा केन्द्रित हुनु पर्ने बताउनुभयो ।
विगतमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकता बनाएको त्रिवेणी गाउँपालिकाले पनि नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र रोजगारीलाई नै प्राथमिकता दिने भएको छ ।
कोरोना भाइरसलगायत अन्य महामारी खेप्न सक्ने गरी भौतिक संरचना निमार्ण तथा जनशक्ति परिचालनका लागि आउँदो आर्थिक वर्षको कार्यक्रम ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सङ्क्रमण कहिलेसम्म जारी रहने भन्ने निर्क्योल नभएकाले स्वास्थ्य क्षेत्रमा सुधारलाई बजेटमा पहिलो प्राथमिकतामा राखिएको छ ।’
रोग र भोकबाट लडन सक्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताउनुभयो । स्वास्थ्य जीवनको महत्त्वपूर्ण विषय भएकाले बजेटमा पहिलो प्राथमिकतामा राखिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्