तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन वार्डमा बसेका व्यक्तिमा कोरोना भेटिएपछि मेची अस्पतालका २५ जना होम क्वारेनटिनमा

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालका डाक्टर, नर्स, कर्मचारीलगायत २५ जना होम क्वारेनटिनमा बसेका छन् ।

अस्पतालको आइसोलेसनमा बसेका भद्रपुर वडा नं ८ का ३१ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नं ५ का ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

भद्रपुरका कोरोना संक्रमति जेठ ३१ गते र कचनकवलका कोरोना सङ्क्रमित जेठ २९ गते आएका थिए ।

जेठ ३२ गते पीसीआर टेस्ट गरिएका कचनकवलका पुरुषको मङ्गलवार रिपोर्ट पोजेटिभ आएको हो भने भद्रपुरका पुरुषको सोमबार नै पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।

अस्पतालको आइसोलेसन र आइसियुमा उपचार गराइरहेका उनीहरूलाई कोरोना सङ्क्रमण भेटिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका त्यहाँका डाक्टर, नर्स, कर्मचारीसहित २५ जनालाई होम क्वारेनटिनमा बस्न पठाइएको फोकल पर्सन चौलागाईंले जानकारी दिनुभयो ।

सङ्क्रमित दुवै जनालाई बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल पठाइएको छ ।

योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ७८ पुगेको छ ।

अस्पतालमै कोरोना सङ्क्रमित भेटिएको र चिकित्सक नर्स ओम क्वोरेन्टिइनमा बसेपछि अस्पतालको सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button