भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार साँझ भक्तपुर नगरपालिका वडा नं. १० कमल विनायक भत्केको पाटीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
खरिपाटीबाट कमल विनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने वर्ष १७ को रञ्जित माहाजुको उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा गए राती नै मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताउनुभयो ।
उक्त मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमल विनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसै गरी बिहीबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटर एक आपसमा ठोक्किँदा अर्को दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर स्कुटर पछाडि सवार काठमाडौं कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भीर घाइते भई नेपाल कोरिया मैत्री अस्पताल ठिमी लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि सोही दिन अन्नपूर्ण न्युरो अस्पताल रिफर गरी उपचार भइरहेकोमा आइतबार राती मृत्यु भएको हो ।
ठक्कर दिने ट्याङ्करका चालक रामेछाप जिल्ला मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी डिएसपी गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्