त्रिपुरा सुन्दरीको १० रोपनी जग्गामा चिया खेती सुरु
मेलम्ची । ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्ने र पर्यटकीय क्षेत्रको विकासको लक्ष्यका साथ त्रिपुरा सुन्दरी गाउँपालिकाले चिया खेती सुरु गरेको छ ।
गाउँपालिकाको पर्यटन प्रवर्द्धन र आर्थिक उन्नतिमा टेवा पुर्याउने उद्देश्यले करिब १० रोपनी जग्गामा पालिकाको ५ नम्बर वडास्थित खागल डाँडामा चिया खेती सुरु गरिएको हो ।
प्रयोगविहीन रहेका सार्वजनिक खुला चउर ,डाँडामा चिया लगाएर व्यावसायिक रूपमा गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जनजस्ता क्षेत्रमा बहु आयामिक बनाउन खेती विस्तार गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो ।
चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरी अघि बढाउन सके गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्न सकिने गाउँपालिका उपाध्यक्ष दुर्गादेवी नेपालले जानकारी दिनुभयो ।
रोजगारीका लागि बिदेसिनेहरूका लागि गाउँपालिका थालेको यो एउटा राम्रो आयमूलक कार्यक्रम बन्न सक्नेमा स्थानीयले आशा बोकेका छन् । गाउँमै चिया उद्यमी बन्न सके घरमै बसी बसी आर्थिक उपार्जन गर्न पनि सहज हुने उनीहरूको आशा छ ।
चियालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्दा बाह्य पर्यटकको आगमन गराउन सकिने सम्भावना समेत देखिएको छ । चियाको लागि उपयुक्त हावापानी, उचाइ हुनाका साथै रुख समेत नभएका कारण यो ठाउँ चिया खेतिको लागि उपयुक्त भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
गाउँमै व्यावसायिक चिया खेती प्रवर्द्धन हुने भएपछि स्थानीय कृषक उत्साहित देखिएका छन् । चिया खेतीमा आश्रित बनेर व्यावसायिक आम्दानीको स्रोत र रोजगारीको बाटो सिर्जना हुने आशामा चिया खेतीमा उत्साह छाएको गाउँपालिका कृषि शाखा प्रमुख पदम बहादुर शाहिले जानकारी दिनुभयो ।
चिया रोपिएको ठाउँ त्रिसुलडाडामा पार्क समेत निमार्ण भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्