तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४० पुग्यो

उदयपुर । उदयपुरमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँस्थित टेकु र विराटनगर प्रयोगशालामा गरिएको परीक्षणबाट थप तिन जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ भने उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ३२ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार त्रियुगा नगरपालिका १० का २४ वर्षीय युवती र १९ वर्षीय युवकमा सङ्क्रमण देखिएको हो । उनीहरू एउटै घरको चेलिमाईती रहेको बुझिएको छ ।

त्यसैगरि कटारी नगरपालिकाका २६ वर्षीय युवामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित सबै जना भारतबाट घर फर्किएका जिल्लावासी हुन् । उनीहरूलाई सम्बन्धित पालिकाहरूले नेपाल भित्रिए लगत्तै उद्धार गरी क्वारेनटाइनमा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका एसपी वीर बहादुर बुढामगरले जानकारी दिनुभयो ।

सङ्क्रमितहरू त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा र कटारी नगरपालिका–१ बेलस्रोतस्थित नेपाली सेनाको रणसार्दुल गणको क्वारेनटाइनमा बस्दै आएको स्वास्थ्य प्रमुख सुबेदीले बताउनुभयो ।

हालसम्म त्रियुगा नगरपालिकामा ३५ जना, बेलका नगरपालिकामा दुई, चौदण्डीगढी गाउँपालिका, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा एक/एक जना गरी ४० जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका मध्ये त्रियुगा नगरपालिका–३ भुल्केका २१ जना र त्रियुगा नगरपालिकां ११ गाईघाटका पत्रकार गरी ३२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले स्वाब सङ्कलनमा तीव्रता दिएको छ ।

बुधवार मात्रै कार्यालयले दुई सय आठ जनाको स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button