रुकुम चौरजहारीको घटनामा संलग्न थप तीन जना पक्राउ

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानको लागि थप तीन जना स्थानीय पक्राउ परेका छन् ।
घटनाको थप अनुसन्धानको लागि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठग बहादुर केसीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा स्थानीय घमन्ड मल्ल, विष्णु मल्ल र सबिन पुन रहेका छन् ।
घमन्ड र विष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन भने सबिन थप अनुसन्धानका लागि पक्राउ गरिएका हुन ।
योसँगै मृतक परिवारले २० जनालाई किटानी जाहेरी गरेकोमा उनीहरू सबै पक्राउ परिसकेका छन् ।
किटानी जाहेरी गरेका सँगै प्रहरीले थप अनुसन्धानका लागि अन्य आठ जनालाई पक्राउ गरेसँगै उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ ।
यसअघि पक्राउ परेकालाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उक्त घटनाको अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्