तपाईँ सुन्दै हुनुहुन्छः

सामुहिक हत्याकाण्डको कारण व्यक्तिगत रिसईबी


रुपन्देही । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको सामुहिक हत्याकाण्ड व्यक्तिगत रिसईबीको कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशुफर्ममा काम गर्ने तिन कामदार तथा दुईजना स्थानीय युवाको हत्या अभियोगमा सुर्खेत लेकबेसी ५ घर भई सोही फर्ममा काम गर्दै आएका झसेन्द्र सिंजालीलाई प्रहरीले घटनास्थलबाटै मंगलबार पक्राउ गरेको थियो ।

सिंजालीले आफूसंगै फर्ममा काम गर्ने ४० वर्षीय माधव मुसहर उनकी पत्नी ३७ वर्षीय जानकी मुसहर, फर्म संचालक कृष्णबहादुर पुनले संरक्षण गरी सोही फर्ममा राख्दै आएका १६ वर्षीय पोखराज मुसहर तथा स्थानीय १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको हत्या गरेका थिए ।

पक्राउ परेका सिंजालीले प्रहरीसंगको बयानमा मुसहर दम्पत्तिले आफ्नो चरित्र हत्या गर्ने गरेको र साहुलाई समेत कुरा लगाउँदै आएकोले त्यसैको बदला लिन उनीहरुको हत्या गरेको स्वीकार गरेका छन् ।

सामुहिक हत्या घटनाको अनुसन्धानको लागि गठित अनुसन्धान टोलीका प्रमुख प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले घटनास्थलको अध्ययन र हत्या अभियोगमा पक्राउ परेका सिंजालीले आफूलाई लगाउँदै आएको आरोपको बदला लिन हत्या गरेको स्वीकार गरेको बताउनुभयो । सिंजालीले चारैजनालाई शुरुमा लठ्ठी प्रहार गरी अचेत बनाई लडेपछि फरुवाको दुईतर्फबाटै पालैपालो हानेर हत्या गरेको अनुुसन्धानमा देखिएको बैदवारले बताउनुभयो ।

अहिले सिंजालीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ भने जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको वैदवारले जानकारी दिनुभयो । त्यस्तै हत्या गरिएका पांचैजनाको शवलाई पोष्टमार्टम गरी बुधवार परिवारलाई जिम्मा लगाइएको वैदवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button