तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३७ पुग्यो

उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुर गढी गाउँपालिका वडानं ५ का २५ वर्षीय युवामा सङ्क्रमण देखिएको हो ।

गाउँपालिकाले भारतबाट आएका र अन्य गरी जेठ २२ गते ७९ जनाको स्वाब सङ्कलन गरी विराटनगर पठाएको थियो । त्यसमध्ये छिमेकी मुलुक भारतबाट घर आएका युवामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिनुभयो । उनी केही दिन यता गाउँपालिकाले स्थापना गरेको क्वारेनटाइनमा बस्दै आएका थिए ।

जेठ २ गते एक जना थपिएपछि शून्य अवस्था रहेको कोरोना उदयपुरमा जेठ २५ गते एकैसाथ बेलका नगरपालिकामा दुई जना र चौदण्डीगढ नपामा एक जना गरी तीन जनामा देखिएपछि पुनः सङ्क्रमण फैलिएको हो ।

आठ स्थानीय तह रहेको उदयपुरमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् । त्यसमध्ये त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा यसअघि कोरोना सङ्क्रमण देखा परेको छ भने गाउँपालिकामा सबैभन्दा पहिला उदयपुर गढीमा देखिएको छ । भौगोलिक र जनसङ्ख्याको हिसाबले गाउँपालिका मध्ये सबैभन्दा ठुलो उदयपुर गढी गाउँपालिका पर्दछ ।

योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीले जानकारी दिनुभयो ।

सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले स्वाब सङ्कलनमा तीव्रता दिएको छ । बुधवार मात्रै कार्यालयले दुई सय आड जनाको स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उहाँले बताउनुभयो ।

नयाँ सङ्क्रमित नभेटिएपछि सामान्य बन्दै गएको उदयपुरमा फेरी त्रास सुरु भएको छ । उनलाई एम्बुलेन्समार्फत विराटनगर लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button