कोरोनामा खर्च भएको रकमबारे सदनमा जानकारी गराउन प्रतिपक्षीको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सांसद गगन थापाले कोरोनाको कोरोना महामारीमा लकडाउनका कारण भोकबाट मर्ने, आत्महत्या गर्ने, दिर्घरोगीले उपचार नपाउने, अस्पताल जान नपाएर गर्भवतीको मृत्यु हुने तथा आत्मदह गर्नेको जिम्मेवारी कसले लिन्छ भन्दै सरकार यस विषयमा मौन बस्न नमिल्ने बताउनुभयो ।
सांसद थापाले सरकारको अकर्मण्यता र असक्षमताको कारण आज भयावह अवस्था सिर्जना भएको आरोप लगाउँदै कोरोना नियन्त्रणमा खर्च भयो भनिएको १० अर्व रुपैयाँको हिसाब सांसदलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद थापाले सरकारले बनाएको क्वारेन्टीन मृत्यु थलो जस्तो बनेको र कोरोना परीक्षण साँघुरो बनाउन थालेको भन्दै त्यसको विरोध गर्नुभयो ।
बैठकमा सांसद छविलाल विश्वकर्माले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१० मैनाहवा स्थित गगांदेवी पशु फर्ममा गए राती पाँच जनाको बीभत्स हत्या भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले मृतकहरू उक्त फर्ममा कार्यरत मजदुर भएका बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडितको परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
यस्तै सांसद सूर्यनारायण यादवले वैशाख ६ गते सप्तरीका कृष्णकुमार यादव कामको सिलसिलामा सुनसरीको भण्टावारी गएको समयमा प्रहरीले नियन्त्रणमा लिएर कृत्रिम प्रमाण खडा गरी यातना दिइरहेको र परिवाका सदस्यहरूलाई समेत भेट्न नदिएको विषय सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्