तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा चार हजार बढी नागरिक भारतबाट भित्रिए


सल्यान । जिल्लामा क्वारेनटाइनमा बस्नेको सङ्ख्या बढ्दै जान थालेको छ । गएको २४ घण्टामा सल्यानमा चार हजार बढी नागरिक भारतका विभिन्न नाकाबाट सल्यान भित्रिएका छन् ।

भारतबाट आएका नागरिक स्थानीय पालिकाहरूले निर्माण गरेका क्वारेनटाइनमा बसिरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

एकै पटक ठुलो सङ्ख्यामा नागरिकहरू जिल्ला भित्रिदा व्यवस्थापनमा निकै समस्या भएको स्थानीय पालिकाहरूले जनाएका छन् ।

पालिका भित्रका सार्वजनिक संरचनाहरूमा क्वारेनटाइन बनाई नागरिकहरू गर्दा पनि अझै व्यवस्थापन गर्न समस्या भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो । पालिकामा बनाइएका क्वारेनटाइन भरिभराउ भएपछि दुई हप्ता भारतबाट नेपाल नआई दिन आग्रह गरिएको उहाँको भनाई छ ।

हुलका हुल नागरिक आउँदा क्वारेनटाइनको व्यवस्थापनमा चुनौती थपिनुका साथै कोरोनाको जोखिम पनि बढेको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताउनुभयो ।

बनगाड कुपिण्डे नगरपालिकामा सबैभन्दा धेरै एक हजार पाँच सय ६१ बसिरहेका छन् ।

बागचौर नगरपालिकामा चार सय २९ जना, शारदा नगरपालिकामा एक सय ६८ जना, सिद्ध कुमाख गाउँपालिकामा दुई सय ८९जना , दार्मा गाउँपालिकामा तीन सय ५७ जना, त्रिवेणी गाउँपालिकामा ३८ जना रहेका छन् ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा दुई सय पाँच , कपुर कोट गाउँपालिकामा ४१ जना, कालीमाटी गाउँपालिका दुई सय २८ जना र कुमाख गाउँपालिकामा चार सय जना क्वारेनटाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button