तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा थप ६ जनामा कोरोना पुष्टि

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकामा–३ को एकै गाउँका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरू सबै जना मेल्तडी र दारुगाँउघर भएका हुन । वडा कार्यालय नजिकै रहेको मेल्तडी माविको क्वारेनटाइनमा बसेका ६७ जना मध्ये ६ जनामा पिसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनीहरूलाई आरडिटी चेक नगरेरै प्रत्येक कोठाबाट समूह समूहमा नमुनाको रूपमा एक एक जनाको पिसिआर परीक्षण गरेपछि ६ जनामा पिसीआर पोजेटिभ देखिएको हो ।

जिल्लामा यस अगाडी एक जनामा सङ्क्रमित देखिसकेको हदाँ अहिले सङ्क्रमितको सङ्ख्या सात जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

मेल्तडी माविमा क्यारेन्टाइनमा रहेका अन्यहरुको चेक जाँचका लागि शनिवार त्यहाँ डाक्टरहरूको टोली गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीले किट अभाव भएकाले रेन्डम्ली एक कोठाबाट एक जना चेक गरेको हो तर त्यहाँ पिसीआर रिपोर्ट पोजेटिभ आएको हुँदा अब अन्य व्यक्तिहरूको पनि पिसीआर विधिबाट परीक्षण गर्नु आवश्यक छ ।

जेठ १५ गते कोही भारतको दिल्लीबाट र कोही काठमाडाँैबाट आएका उनीहरू घर जान हतार गरिएका भए पनि अब सबैलाई पिसीआर विधिबाट चेक जाँच गरिने भएपछि सबैलाई क्यारेन्टाइमा नै बस्न भनिएको छ ।

शुक्रवार कोरोना पुष्टि भएकाहरू ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षका महिला रहेका छन् ।

उहाँहरू मध्ये पाँच जना जेठ १५ गते भारतको दिल्लीबाट आएको र एक जना २५ वर्षीय पुरुष काठमाडौँबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले जानकारी दिनुभयो ।

बुधवार मेल्तडी माविको क्वारेनटाइनमा रहेका १४ जना र सोही वडाको भाग्योदय निमाबिको क्वारेनटाइनमा रहेका चार जना गरी २० जनाको स्वाब सङ्कलन गरी सुदूरपश्चिम प्रादेशिक प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।

भाग्यद्योबाट लिएको चार जनाको स्वाब परीक्षण भने नेगेटिभ आएको छ । वडा भित्र रहेका क्यारेन्टाइनमा बस्नेहरूको पिसीआर रिपिट पोजेटिभ आएपछि वडामा उच्च सजगता अपनाएको र वडामा अहिले आउन जान बन्द गरिएको वडा अध्यक्ष मङ्गल सुनारले बताउनुभयो ।

खप्तड छान्ना गाउँपालिका भरी तीन सय ५० जना क्वारेनटाइनमा बसेका छन् । क्यारेन्टाइनमा बसेका सबैको आरडिटी र पिसीआर विधिबाट स्वास्थ्य परीक्षण गराउनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष वर्क रोकायाले बताउनुभयो ।

जिल्लामा हालसम्म १७ सय ४२ जनाको आरडिटी र दुई सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

एक सय ६९ क्वारेनटाइनमा तीन हजार दुई जना रहेका छन् । सात जनाको आइसोलेसन राखेर उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button