तपाईँ सुन्दै हुनुहुन्छः

झापामा फौजी किरा, गवारो र नेक ब्लाष्टबाट मकै र धान सखाप

भद्रपुर, झापा । लामो लकडाउनका कारण समस्यामा परेका झापाका किसानलाई अमेरिकी फौजी किरा, गवारो र नेक ब्लाष्ट नामक रोगले थप दुःख दिएको छ ।

झापामा धानसँगै मकैमा पनि फौज किराको प्रकोप देखिएको छ । झापाको सयौँ हेक्टरमा लगाइएको मकै बालीमा सुत्ला चेप्ने बेलामा फौजी किराले आक्रमण गरेको किसानहरूले बताएका छन् । झापाका ३६ हजार पाँच सय हेक्टरमा किसानले बसन्ते सिजनको मकै खेती गरेका थिए ।

अर्जुन धारा नगरपालिका १, ४, ८, ९, कमल गाउँपालिकाको वडा नम्बर १ र कचनकवल गाउँपालिकाको वडा नम्बर २, ४, भद्रपुर नगरपालिकाको वडा नं ४ का किसानले लगाएको मकै खेतीमा फौजी किराको बढी प्रकोप देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।

झापाकै गौरा दहमा गवारो र नेक ब्लाष्ट नामक रोगले सयौँ हेक्टरमा लगाएको चैते धान नष्ट गरेको बताइन्छ । प्रभावित क्षेत्रमा कृषि विज्ञहरूको टोली पुगेर अवस्था बुझेको छ ।

कृषि ज्ञान केन्द्रले रोग नियन्त्रणका लागि स्थानीय तहहरुलाई किटनाशक औषधि वितरण गरिएको जनाएको छ ।

फौजी किराको प्रकोपबाट भने झापामा ३७० हेक्टर जमिनमा लगाएको मकै बाली नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button