निश्चित मापदण्डसहित ७४ दिनपछि वीरगन्ज बजार खुल्यो

वीरगन्ज । विगत ७४ दिनदेखि जारी लकडाउनबाट मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगन्ज नराम्रोसँग प्रभावित भएको र यसले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा आजबाट आवश्यक बस्तुहरूको सहज आपूर्तिका लागि वीरगन्ज बजार निश्चित मापदण्ड बनाएर खुलाइएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साबाट भएको निर्णय अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रभित्र अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायबाटै इजाजत प्राप्त गरेका सवारी साधनहरू समेत मुख्य सडकमा पार्किङ गर्न नपाउने व्यवस्थासहित नयाँ नियम बनाइएको छ ।
बजार खुला गरेसँगै इजाजत प्राप्त सवारी साधनलाई व्यवस्थापन गर्न वीरगन्ज महानगरपालिकाले जारी गरेको सूचनामा वीरगन्जको नयाँ बसपार्क, आदर्शनगरस्थित पुरानो बसपार्क, जिल्ला हुलाक कार्यालय अगाडी रहेको रातो बङ्गला अगाडीको खाली जग्गा तथा मालपोत कार्यालय अगाडीको क्षेत्रमा सशुल्क पार्किङको व्यवस्था मिलाइएको जनाइएको छ ।
त्यसै गरी बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो पार्किङ स्थलमा अनिवार्य पार्किङको व्यवस्था मिलाउनुपर्ने र पार्किङ स्थल नहुनेहरूको हकमा महानगरपालिकाले तोकेको स्थानमा पार्किङ गर्न आग्रह गरिएको छ ।
आज जेठ २३ गते बिजोरमा परेका हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाडाबर्तन, सुनचाँदी फर्निचर लगायतका पसलहरू सञ्चालन गर्नुपर्ने र पसलहरू बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले आग्रह गर्नुभयो ।
यसै गरी जोर गतेको दिन रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिकल इलेक्ट्रोनिक्स पसलहरू सञ्चालन हुने समेत बताउनुभयो । प्रहरी उपरीक्षक पन्तले औषधी पसलहरू चौबिसै घण्टा, बैङ्क तथा वित्तीय संस्थाहरू नियमितरुपले सञ्चालन गर्ने तथा खाद्यान्न, किराना तरकारी, दूध पसलहरू प्रत्येक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न आग्रह गर्दै तरकारी पसल, फलफूल सटरभित्र राखेर बिक्री वितरण गर्ने तथा घर घरमा बिहान पु¥याउनका लागि बिक्रेताहरूलाई आग्रह गर्नुभयो ।
प्रहरी उपरीक्षक पन्तले लकडाउन हटाइएको नभई खुकुलो गरिएको र तोकेको मापदण्ड विपरीत कार्य गरेको भेटिएमा संका्रमक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने समेत जानकारी दिनुभयो । उहाँले आम उपभोक्ता र व्यवसायीले सामाजिक दुरी कायम गरी भिडभाड नगरी सामान खरिद विक्री गर्न आग्रह समेत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्