तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या  

लम्की । कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ । आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ । कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ ।

मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा श्यया अभाव भएको सेती अञ्चल अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालसँग २४ श्यया र टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । सेतीमा बिरामीको सङ्ख्या २५ पुगिसकेको छ । अझै गौरीगङ्गाका पाँच सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ ।

अस्पतालका मेसु डा हेमराज पाण्डेले श्यया अभाव भएकाले बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या भएको बताउनुभयो । “सङ्क्रमित दैनिक थपिन थालेका छन्”, पाण्डेले भन्नुभयो, “अब बिरामी कहाँ राखेर उपचार गर्ने भन्ने विकल्प खोजिनुपर्छ ।” टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । यहाँ १३ जनाको उपचार भइरहेको छ ।

टीकापुरमा मङ्गलबार चार जनामा सङ्क्रमण देखिएपछि एक जनालाई श्यया अभाव हुँदा अस्पतालका अन्य वार्डमा रहेको श्यया प्रयोग गरेर बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दुवै अस्पताल भरिएकाले अब अन्य ठाउँमा पनि विकल्प खोजी गरी बिरामी राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । सेती अस्पतालमा ५० श्ययाको कोरोना अस्पताल निर्माणपछि हस्तान्तरण भइसकेको छ तर उपकरण जडान बाँकी रहेकाले सञ्चालनमा आउन सकेको छैन । “यो अस्पताल सञ्चालनमा आएपछि केही राहत हुन्छ”, धामीले भन्नुभयो, “त्यसबाहेक अन्य अस्पताललाई पनि तयारी अवस्थामा राख्न जरुरी छ ।”

टीकापुरमा ३० श्ययाको अस्पताल निर्माणकार्य तीव्र

कैलालीको टीकापुरमा ३० श्ययाको अस्थायी कोरोना अस्पतालको काम तीव्र पारिएको छ । टीकापुरको सिटीहलमा सञ्चालन हुने अस्थायी कोरोना अस्पतालमा बिजुली जोड्ने, पर्दा लगाउने र श्यया व्यवस्थापनको काम भइसकेको छ । बाँकी काम चाँडै सम्पन्न गरेर अर्को सातादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । “काम तीव्ररुपमा भइरहेको छ । श्यया व्यवस्थापनको काम सकिएको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमित थपिँदै गएका छन्, हामी अर्को सातादेखि अस्पताल सञ्चालन गर्ने तयारीमा छौँ ।”

अस्थायी कोरोना अस्पतालमा चिकित्सक टीकापुर अस्पतालकै खट्नेछन् भने बाँकी अन्य स्वास्थ्यकर्मी कैलालीका पूर्वी क्षेत्रका सात स्थानीय तहले १५/१५ दिन पालैपालो खटाउने सहमति भएको डा कँडेल बताउनुहुन्छ, “स्वास्थ्यकर्मी बस्ने क्वार्टर पनि तयार हुँदैछ । उनीहरु १५ दिन त्यही बसेर सेवा दिनेछन्, त्यसपछि अर्को पालिकाको पालो आउनेछ । यसरी गर्दा सजह पनि हुनेछ ।”

कैलालीमा कोरोनाका सङ्क्रमित बढ्न थालेपछि कैलालीका सात स्थानीय तहले टीकापुरस्थित सिटीहलमा छुट्टै कोरोना अस्पताल शुरु गर्ने निर्णय गरेपछि काम थालिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बताउनुभयो । “यस्तो विपत्तिमा स्थानीय सरकार मिलेर विपत्तिको सामना गर्ने तयारी गरेका हौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “लाग्ने खर्च पनि सात स्थानीय तह मिलेर व्यहोर्ने सहमति भएको छ ।” पछिल्लोपटक कैलालीबाट रोजगारी गर्न भारत गएका नागरिक घर फर्किने क्रम बढ्न थालेपछि कैलालीमा समेत सङ्क्रमित बढ्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button