उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोड
काठमाडौं । राष्ट्रिय प्रसारण नपुेगका वा पुर्याउन नसकिने नेपालका गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी नवीकरणीय ऊर्जा क्षेत्रका विज्ञहरुले भौगोलिक विकटताका कारण नेपालका सबै ठाउँमा केन्द्रीय प्रशारण पुर्याउन कठिन हुने भएकाले सोलार फोटोभोल्टेक प्रविधि वा साना तथा लघु जलविद्युत् आयोजनाहरुलाई मिनी ग्रिडका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ऊर्जा विज्ञद्वय देवेन्द्रप्रसाद अधिकारी र कृष्णप्रसाद देवकोटाले अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका चार लाख घरधुरीमा विद्युत् सुविधा पुग्न नसकेकाले ती स्थानमा उपयुक्तताका आधारमा सोलार वा लघु जलविद्युत् आयोजनाहरुको मिनी ग्रिड निर्माण गरी विद्युतीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेल, विद्युत नियमन आयोगका सदस्य तथा केन्द्रका पूर्वकार्यकारी निर्देशक डा रामप्रसाद धिताल, केन्द्रका अर्का पूर्वकार्यकारी निर्देशक डा नारायणप्रसाद चौलागाई, केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले आआफ्नो धारणा प्रस्तुत गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्