तपाईँ सुन्दै हुनुहुन्छः

बाँके दुर्घटनाका मृतक मध्ये दुई जनाको सनाखत

नेपालगन्ज  । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ठुरिया जङ्गलमा गए राति १२ बजेतिर भएको गाडी दुर्घटनामा मृत्यु भएका १२ जना मध्ये दुई जनाको सनाखत भएको छ ।

मृतकहरूमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ।

दुर्घटनामा २१ जना घाइते भएका छन् ।

भारतबाट आएर नेपालगन्जको जमुनाहा नाका हुँदै सल्यान जान लागेकाहरू दुर्घटनामा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । शवहरू भेरी अस्पतालमै राखिएको छ ।

यसैबिच दुर्घटनामा मृत्यु र घाइते भएका सबैको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले बताउनुभयो ।

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव हस्तान्तरण हुने उहाँले जानकारी दिनुभयो । भारतबाट आएकाले उनीहरूमा कोरोनाको जोखिम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button