तपाईँ सुन्दै हुनुहुन्छः

बाहिरी सम्पर्कमै नभएको ज्येष्ठ नागरिकमा कोरोना, स्थानीयमा त्रास

दोलखा- बाहिरी सम्पर्कमै नरहेको दोलखा भीमेश्वर नगरपालिकाका एक ज्येष्ठ नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयमा त्रास देखिएको छ ।

लामो समयदेखि घरमै रहेका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका ७६ वर्षीय ज्येष्ठ नागरिकलाई गत जेठ १० गते शनिवार हाई प्रेसरका कारण स्वास्थ्यमा समस्या देखिएपछि दोलखाको गौरीशङ्कर अस्पतालमा उपचारको लागि लगिएको थियो ।

दोलखाको अस्पतालमा सामान्य उपचारपछि शनिवार नै थप उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको र उपचारको क्रममा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

आरडिटी पोजेटिभ देखिएपछि स्वाब परीक्षण गरिएको र त्यसमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल उहाँको महाराजगन्जको टिचिङ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनुभयो ।

कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकका एक छिमेकीका अनुसार उहाँ लकडाउनको बेला कहीँ कतै जानु भएको पनि थिएन र उहाँको घरमा पनि बाहिरका मानिस आएका थिएनन् । उहाँमा कसरी कोरोना सङ्क्रमण देखियो हामी छक्क परेका छौ – ती छिमेकीले भन्नुभयो ।

अहिले सङ्क्रमण पुष्टि भएको ज्येष्ठ नागरिकको घर आसपास उच्च सतर्कता सहित घर बाहिर ननिस्कन छिमेकीलाई आग्रह गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताउनुभयो । भीमेश्वर नगरपालिकाले कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको सम्पर्कमा आएकाहरूको कन्ट्रायाक ट्रेसिङको काम गरी रहेको र उहाँको सम्पर्कमा आएको सबैको स्वाब परीक्षण गरिने नगरप्रमुख भरत केसीले बताउनुभयो ।

कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको सुरुमा उपचार गर्ने गौरीशङ्कर अस्पतालका स्वास्थ्यकर्मीहरुलाई छुट्टै राखिएको र उहाँहरूको स्वाब परीक्षण गर्ने तयारी भई रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई उपचारको लागि लिएर जानु भएको उहाँको बुहारीलाई पनि टिचिङ अस्पतालले क्वारेन्टाईनमा राखेर स्वाब परीक्षणको लागि पठाएको जनाएको छ ।

दोलखाबाट उपचारको लागि गएको छोटो अवधिमै उहाँमा कोरोना सङ्क्रमण देखिएको र घरमा रहँदा पनि बाहिर फेर नजाने भएकोले सङ्क्रमणको स्रोत के हो भनेर खोज्ने काम भइरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button