प्रेस युुनियनले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

मेलम्ची । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमा गरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुने भएकाले पत्रकारहरुको बिमा गरिएको हो ।
विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना (कोभिड १९) संक्रमण पत्रकारमा फैलने सम्भावित खतरा भएपछि एक पत्रकार बराबर एक लाख रुपैयाँको बिमा गरिएको हो । अहिले प्रेस युनियन सिन्धुपाल्चोकका ५५ सदस्यको बिमा गरिएको छ ।
बिमालेख नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा एक वर्षका लागि बिमा गरिएको हो । बिमा अवधि २८ मे २०२१ सम्म रहनेछ ।
बिमा कम्पनी आइएमइका अनुसार कोराना भाइरस (कोभिड १९) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणित भएमा करारको अवधिमा रही भुक्तानी दिइनेछ ।
बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ । बिमा कम्पनीका अनुसार यो बाहेक अन्य कम्पनीबाट बिमा गराइएको पाइएमा भुक्तानी भने दिइने छैन ।
कोरोना महामारीको समयमा समाचार संकलन गर्न जोखिम भएकाले पत्रकारलाई कोभिड १९ पोजेटिभ देखिए राहत होस् भन्ने हेतुले युनियनकर्मीको बिमा गरिएको प्रेस युनियन सिन्धुपाल्चोक शाखाकी अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्