मकवानपुरको कैलाश गाउँपालिका भवनमा भीषण आगलागी

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासनिक भवनमा बिहीबार भीषण आगलागी भएको छ ।
आगलागीबाट कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रूपमा नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो ।
गाउँपालिकाको सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगजनी भएको उपाध्यक्ष थिङले बताउनुभयो ।

गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगजनी भएको थियो । आगजनी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए ।
गाउँपालिकाको १८ कोठाको प्रिफ्यावको प्रशासनिक भवन विद्युत् सर्ट भई आगलागी हुँदा पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।
आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामान समेत नष्ट भएको उपाध्यक्ष थिङले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान भने युरिया मलको व्यवस्थापनका लागि जिल्ला सदरमुकाम हेटौँडामा रहेको बताउनुभयो ।

अस्थायी संरचनाको रूपमा प्रिफ्यावले निर्माण गरिएको प्रशासनिक भवन जलेको खबर आएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्