दुई ट्रिपरले एकैसाथ ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरीको मृत्यु

भक्तपुर । गए राति काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आएका दुई ट्रिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शंखधर चोकस्थित ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक(सई)को मृत्यु भएको छ ।
आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा सई निमबहादुर घर्तीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
४५ वर्षीय घर्ती पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहे पनि महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत थिए ।
तीव्र गतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली ट्रिपर र सोही ट्रिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नम्बरको ट्रिपरले थिम चोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका सई घर्ती मगरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते घर्ती मगरलाई तत्काल मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो ।
सई निमबहादुर घर्ती मगरको स्थायी घर दाङको रामपुर रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर फरार भएका ट्रिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई कौशलटारबाट र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई सल्लाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
अनुसन्धानमा टिपर चालक सैंजूले मादक पदार्थ सेवन गरेको र दुवै चालकको लापरबाहीका कारण दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्