तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरका ८५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ


भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणको जोखिम बढदै जाँदा पछिल्लो समयमा ८५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरका कोरोना संक्रमित तेस्रो पुरुषको परिवार सहित १२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका ती पुरुषको ११ जना परिवार र १ स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो । काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर न.पा. ५ योसिंखेल निवासी ४२ वर्षीय पुरुषको घरपरिवार सहित १२ जनाको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको हो ।

ती पुरुषमा गत मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । कोरोना संक्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ । बुधबार ती संक्रमितको ११ जना परिवार सदस्य र प्रत्यक्ष सम्पर्कमा रहेका १ जना गरी १२ जनाको ‘नोजल स्वाब’ संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत ७१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाले आरडीटी बाट परीक्षण गराउँदा २ जना कर्मचारीमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि जनप्रतिनिधि, कर्मचारी लगायत १ सय ४३ को पीसीआर परीक्षण गराएको थियो ।

जसमध्ये ७१ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो । आरडीटी रिपोर्ट पोजिटिभ आएका दुवैजना कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले सुरुमा आरडीटी पोजिटिभ आएका वडा सचिव र सफाइ मजदुरको पीसीआर नेगेटिभ यसअघि नै आइसकेको बताउनुभयो ।

१४३ जनाको परीक्षण भएकोमा आज बिहानसम्ममा ७० जनाको रिपोर्ट आएको वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिनुभयो । जनप्रतिनिधि र कर्मचारीको कोरोना भाइरस परीक्षणका क्रममा शुक्रबार वडा नम्बर ९ की वडा महिला सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिलालाई पाटन अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य गरेको नगरपालिकाले जनाएको छ ।
कोराना भाइरस संक्रमण पुष्टि भएकी महिलाको परिवार सहित प्रत्यक्ष सम्पर्कमा रहेका १९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । उनलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर उनी बस्ने भक्तपुर नपा ९ तुमचो क्षेत्रमा सिल गरिएको छ । उनको परिवारमा श्रीमान, एक छोरा र एक छोरी छन् ।

ज्याख्वका अनुसार नगरपालिकामा ४६ जनप्रतिनिधि, १६० सफाइ कर्मचारी र ४१ स्वास्थ्य कर्मचारी रहेका छन् । परीक्षण गर्न बाँकी रहेकाको परीक्षण गर्ने क्रम चलिरहेको छ । आइतबार ती संक्रमित जनप्रतिनिधिको सम्पर्कमा आएका १६ जनाको कन्टाक्ट ट्रेसिङ भइसकेपछि १९ जनाको स्वाब संकलन गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । भक्तपुरका संक्रमित चारजनामध्ये सुरुमा पुष्टि भएका २५ वर्षीया महिला र २७ वर्षीय सशस्त्र प्रहरीका जवान भने कोरोना भाइरसलाई जितेर डिस्चार्ज भइसकेका छन् ।

त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको शव व्यवस्थपनमा खटिएका भक्तपुरका दुई युवा स्वयंसेवक अरुण सैँजु र राजेश गाइजुको कोरोना रिपार्ट नेगेटिभ आएको एसपी प्रधानले जानकारी दिनुभयो । उनीहरुलाइ सुर्यविनायकस्थित वीरदल गणको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले धुलिखेल अस्पतालबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको शब पशुपतिस्थित आर्यघाटमा लगेर व्यवस्थापन गरेका थिए ।

सुनसरीबाट काठमाडौं आएकी २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि भक्तपुरको थिमि, शंखधर चोकछेउका सात घर प्रशासनले ३१ वैशाखमा सिल गरेकोमा १३ दिनपछि आइतबार सिल खुलाएको छ । संक्रमित युवती चार दिनअघि जेठ ८ मै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भइसकेकी छिन् । उनी बसेको घरवरिपरिका २५ जनाको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।

संक्रमित युवतीका साथी, परिवारका सदस्य र उनलाई काठमाडौं ल्याउने मोटरसाइकल चालकको रिपोर्ट पनि नेगेटिभ आइसकेको छ । भक्तपुर प्रशासनले ती युवती बसेको टोल र संक्रमित सशस्त्र प्रहरी जवान बसेको दुवाकोटमा आइतबार सिल खुलाएको हो । तर थप १४ दिन क्वारेन्टाइनमा बस्न उनीहरूलाई प्रहरी र प्रशासनले सचेत गराएको छ ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भक्तपुरले तीन तहको योजनासहित तयारी अघि बढाएको छ । भक्तपुरस्थित संकट व्यवस्थापन समितिले कोभिड १९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टाइन, उपचार तथा आइसोलेसन र संक्रमितको ज्यान गए मृतकको शवको उचित व्यवस्थापनसम्मको गरी तीन तहको तयारी अगाडि बढाएकोे छ ।

देशैभरि कोरोना फैलिएसँगै भक्तपुर पनि कोरोनाको उच्च जोखिममा छ । हालसम्म यहाँ चारजना संक्रमित भेटिसकेका छन् । संक्रमण समुदायमै र जनप्रतिनिधिमा समेत देखिए पछि स्थानीय थप चिन्तित,सचेत र सतर्क भएका छन् । तर पछिल्लो पीसीआर नेगेटिभ आएको नतिजाले स्थानीयमा केही सहज महसुस पनि गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button