तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घ रोगीलाई सेवा दिन ‘हेल्लो परामर्श सेवा’ सुरु

ओखलढुंगा । ओखलढुंगामा ‘हेल्लो परामर्श सेवा’ सुरु गरिएको छ । दीर्घ रोगीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरैबाट टेलिफोन मार्फत स्वास्थ्य सेवा र सल्लाह लिन सकिने गरि जिल्ला अस्पताल रुम्जाटारले ‘हेल्लो परामर्श सेवा’ सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका समयमा दम, उच्च रत्तचाप, मधुमेह, बाथ, मृगौला, जस्ता दीर्घ रोगका नागरिकले घरैमा बसेर आफ्नो स्वास्थ्य समस्याका बारेमा चिकित्सक सँग टेलिफोन गरेर परामर्श सेवा लिन सक्ने गरि यो अभियान थालिएको जिल्ला अस्पतालका प्रमुख डा. सन्तोष देवले बताउनुभयो ।

दीर्घ रोगीहरुले सामान्य स्वास्थ्य समस्यामा पनि अस्पताल आउँदा उनीहरुमा कोरनाको संक्रमणको जोखिम हुने भएकाले घरैमा बसेर सेवा लिन सक्ने डा. देवको भनाई छ ।

नियमित सेवन गरिरहेको औषधीका बारेमा समेत कुनै जानकारी आवश्यक भए आफुहरुले परामर्श दिने उहाँको भनाई छ ।

ज्वरो, रुघाखोकी धरै भएमा नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउन, कोरोना संक्रमित जिल्लाबाट कोही आएमा उच्च सतर्कता अपनाउँदै क्वारेन्टाईनमा बसेर स्वास्थ्यकर्मीलाई जानकारी गराउन र मौषम परिवर्तनसँगै लाग्ने रोगबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्ला अस्पताल रुम्जाटारले सबैमा अपिल गरेको छ ।

जिल्लाका दीर्घ रोगी तथा अन्यले पनि स्वास्थ्यका बारेमा परामर्श लिन चाहनेले जिल्ला अस्पतालको फोन नम्बर ०३७५४०१८८ र ९८२०७०२९२४ मा सम्पर्क गरेर सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

ओखलढुंगामा दीर्घ रोगीहरु लकडाउनको मारमा छन् । नियमित सेवन गर्ने औषधी सकिएकाले गाउँमा किन्न नपाईने र लकडाउनका कारण शहरमा जान सक्ने अवस्था नभएकाले समस्या बढेको हो ।

जिल्लाका केही स्थानीय तहका जनप्रतिनिधिले दीर्घरोगीका लागि आवश्यक औषधी घरघरमै लगिदिएको भएपनि धेरैजसो दीर्घरोगीहरु नियमित स्वास्थ्य उपचार र औषधी अभावमा छट्पटाईरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button