तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणका लागि आवश्यक रणनीति अपनाउँदै प्रदेश सरकार मैदानमा उत्रिएको मुख्यमन्त्री राउतको दाबी

फाइल तस्बिर

बीरगंज । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार कोरोना सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सम्पूर्ण रणनीति अपनाउदै सङ्घीय र स्थानीय सरकारको समन्वयमा मैदानमा उत्रिएको दावी गर्नु भएको छ ।

पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा आज वीरगंजमा प्रदेश सरकारद्वारा आयोजित सर्वदलिय तथा सर्वपक्षिय वैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दिन प्रतिदिन बढ्दै गएको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि सीमा क्षेत्र शिल गरिए पनि भारतबाट हुने गरेको घुसपैठले समस्या निम्त्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले बीरगञ्जको नारायणी अस्पतालका साथै थप एक कोरोना अस्पताल निर्माणका लागि ढिलाई गर्न नहुने बताउँदै यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले अहिले वीरगञ्ज तथा पर्सा जिल्लामा कोरोना सङ्क्रमणको अवस्था र अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा नारायणी अस्पताल वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्याय, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, पोखरीया नगरपालिकाका प्रमुख दिप नारायण रौनियार, स्थानिय प्रहरी प्रशासनका प्रमुखहरु, प्रदेश नम्बर २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसद घिमिरेसहितको टोलीसँग आवश्यक परामर्श लिनु भएको थियो ।

हाल पर्सा जिल्लामा दुई जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी सहित ८९ जना सङ्क्रमित रहेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा ७० जना र सिद्धार्थ माविको सेमी आईसोलेसनमा १७ जना अहिले उपचारत रहेका छन् ।

आइसोलेसनमा रहेका सङ्क्रमितहरुले खानपिन राम्रो नपाएको, पिउने पानी र शौचालय समेतको व्यवस्था नभएको सम्बन्धमा गुनासो गरी रहेको बेला सम्पन्न बैठकले सङ्क्रमितहरुको माग समेत सम्बोधन गर्ने अपेक्षा आफूहरुले लिएको नारायणी अस्पतालको आइसोलेसनमा रहेका सङ्क्रमित सञ्चारकर्मीले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button