तपाईँ सुन्दै हुनुहुन्छः

चितवनका चेपाङलाई राहतमा नगरपालिकाले ठगेको खुलासा

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ९ शेरवासका चेपाङलाई पनि कालिका नगरपालिकाले राहत दिँदा ठगेको पाइएको छ ।

सरकारले पाँच जनासम्मको परिवारलाई १० किलो र सो भन्दा माथिको परिवारलाई २० किलो चामल र दुई किलो नुन, दुई किलो दाल लगायतका सामान दिने बताएको थियो । तर पनि कालिका नगरपालिकाबाट वितरण भएको राहत आफूले १० किलो मात्र पाएको स्थानीय रामचन्द्र चेपाङले रेडियो नेपाललाई बताउनुभयो ।

“खै कति दियो थाहा भएन, १० किलो चामल, आधा पाकेट नुन र १ किलो दाल पाएको हुँ” रामचन्द्रले दुखेसो पोख्नुभयो ।

कोरोना भाइरसको महामारीपछि लकडाउनको समयमा कोही जनप्रतिनिधिहरु पनि गाउँमा आइनपुगेको र सो राहत पनि आफ्नो ज्वाइँ पूर्णबहादुर चेपाङले ल्याइदिएको रामचन्द्र चेपाङले बताउनुभयो । राहत बाँडेको पनि थाहै पाइएन, उहाँले भन्नुभयो । सात जनाको परिवार छौँ, आफ्नो खेतीले ३÷४ महिनामात्र खान पुग्दछ, सधैँ हामी ज्याला मजदुरी गरेर खाने गर्दथ्यौँ, उहाँले भन्नुभयो । अहिले ज्याला मजदुरी पनि गर्ने ठाउँ छैन, उहाँको गुनासो थियो ।

ज्वाइमार्फत् पाएको चामल त अस्ति नै सकिइसक्यो, कसरी परिवार पाल्ने हो ? उहाँले दुखेसो पोख्नुभयो । गाउँका धेरै जसोले मैले जतिनै राहत पाएका हुन, सबैको समस्या उस्तै छ, उहाँले भन्नुभयो ।

कालिका वडा नं. ९ को शेरवासमा १८ घरधुरी रहेको र त्यहाँका सबै विपन्नलाई राहत वितरण गरिसकेको वडा अध्यक्ष हेमबहादुर क्षेत्रीले दावी गर्नुभयो ।

राहत वितरणको सन्दर्भमा जानकारी लिन कालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठलाई पटक पटक टेलिफोन गर्दा उहाँको फोन उठेन ।

यस अगाडि पनि कालिका नगरपालिकाले वडा नं. १० र ११ को सिद्धि क्षेत्रका चेपाङ बस्तीमा पनि राहत वितरणमा ठग गर्दै स्थानीयलाई सरकारले तोकेभन्दा आधा मात्र राहत वितरण गरेको पाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button