सबै क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्छः मुख्यमन्त्री पौडेल
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले हरेक कामका लागि सरकारको मात्रै मुख ताकेर बस्नु नागरिकको जिम्मेवारीभित्र नपर्ने बताउनुभयो ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लायन्स तथा लियो क्लबद्वारा आयोजित स्वचालित ह्याण्ड स्यानेटाइजिङ उपकरण जडान कार्यक्रममा मुख्यमन्त्री पौडेलले नागरिकले आआफ्नो क्षेत्रबाट सरकारलाई सहयोग गर्नुपर्ने बेला आएकामा जोड दिनुभयो ।
आफुसँग भएको सीप र कलालाई माहामारीका बेला सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कोरोना भाइरसको जोखिम देशमा कायम नै रहेकाले लकडाउन पूर्णरुपमा नहट्न सक्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले नागरिकलाई सजग रहनसमेत आग्रह गर्नुभयो ।
कोरोना सङ्क्रमण लामो समयसम्म रहिरहन सक्ने हुँदा भौतिक र मानसिक रुपमा तयार भएको बस्नुपर्ने उहाँको धारणा थियो । मुख्यमन्त्री पौडेलले लायन्स तथा लियोहरुले गरेको सामाजिक काम नियालिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्