तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका : नेता नेपाल

फाइल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले राम्रो भूमिका खेलेको बताउनुभएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले आयोजना गरेको सञ्चारकर्मी निःशुल्क दन्त परीक्षण कार्यक्रममा उहाँले सरकारले नियन्त्रणमा खेलेको भूमिकाले नेपाल कम सङ्क्रमित भएको देशका रुपमा रहनु सुखद् भएको बताउनुभयो ।

अहिलेको अवस्थामा कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी भएको र यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको नेता नेपालको भनाइ थियो ।

उहाँले कोभिड–१९ को नियन्त्रणमा भावी दिनमा समेत सङ्कट टार्नका लागि सबैले सचेतना अपनाउन आग्रह गर्नुभयो । उहाँले सोही अवसरमा आफ्नो दन्त परीक्षणसमेत गराउनुभएको थियो ।

कार्यक्रममा ओम डेण्टल समाज होमका चिकित्सक डा सुवास घिमिरेले केही गरौँ भन्ने भावनाका साथ आफूहरुले निःशुल्करुपमा यो सेवा प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर दवाडी, सागर पण्डितसहित करीब २५ पत्रकारले दाँतको उपचार गराउनुभएको थियो ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले समाचार सङ्कलनमा अगाडि (फ्रन्टलाइन)मा खटिने सञ्चारकर्मी र रौतहटवासीसमेत लाभान्वित हुने गरी कार्यक्रम राखिएको बताउनुभयो । ओम डेण्टल समाज होमको सहयोगमा केन्द्रले पत्रकारको निःशुल्क दन्त परीक्षण गरेको हो ।

सोही कार्यक्रममा नेता नेपालले रौतहट घर भई काठमाडौँमा बसोबास गर्ने ३५ परिवारलाई राहत प्रदान गर्नुभएको छ ।

लामो समयदेखि लकडाउन भएपछि समस्यामा परेका रौतहटवासीलाई उहाँले चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री उपलब्ध गराउनुभएको हो ।

राहत वितरण कार्यक्रमको संयोजन पनि सञ्चार केन्द्र नेपालले गरेको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button