तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या एक हजार तीन सय बढी

बैतडी । बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या एक हजार तीन सय २१ जना पुगेको छ । गत बिहीबार भारतीय सीमाबाट नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा आठ सय७१ जना क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा दुई सय ३१ जना, सिगास गाउँपालिकामा ९१ जना, शिवनाथ गाउँपालिकामा २३, सुर्नया गाउँपालिकामा २५ जना क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिकामा २३, मेलौली नगरपालिकामा १७, पाटन नगरपालिकामा नौ जना र दशरथचन्द नगरपालिकामा २४ जना क्वारेन्टाइनमा बसेका छन् ।

बैतडीमा देशभरीमै सबैभन्दा बढि व्यक्ति क्वारेन्टाइनमा बसेको बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले बताउनुभयो ।

खानबस्न र मनोरञ्जन गर्न व्यवस्था
क्वारेन्टाइनमा बसेका नागरिकहरुको खान र बस्नको व्यवस्था स्थानीय तहहरुले गरेका छन् ।

पछिल्लो समयमा भारतबाट फर्केका नागरिकहरुका लागि तयार पारिएका क्वारेन्टाइन व्यवस्थित रहेको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन जिल्ला समन्वय समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।

उहाँले अनुगमन गरिएका ठाउँमा क्वारेन्टाइनको व्यवस्थापन सन्तोषजनक रहेको बताउनुभयो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाने बस्ने ब्यवस्था गर्नुका साथै उनीहरुलाई रेडियो सुन्ने ब्यवस्था मिलाइएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

उहाँले सुरुमा एक दिन उनीहरुलाई मोटा चामलको भात दिइए पनि पछि गुनासो आएकोले मन्सुली चामलको भात खुवाउने गरिएको बताउनुभयो ।

क्वारेन्टाइनमा राम्रो रहेको दोगडाकेदार–७ का हरिप्रकाश भट्टले बताउनुभयो । रेडियो सुन्न र गीत बजाउन डिजे साउण्ड सिस्टम राखि दिएको दोगडाकेदार–२ का भरतराम सार्कीले बताउनुभयो ।

त्यस्तै जिल्लाको पाटन नगरपालिकाले बनाएको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेट सेवाका लागि वाइफाई जडान गरिदिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताउनुभयो ।

केही स्थानीय तहले मोबाइमा रिर्चाज कार्ड समेत हालिदिने गरेको जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button