तपाईँ सुन्दै हुनुहुन्छः

साल्ट ट्रेडिङ कम्पनीले तोकेकै दरमा हेलम्बुका किसानलाई मल

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले किसानलाई गाउँपालिकाको अनुदानमा रासायनिक मल वितरण गर्न सुरू गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार आजदेखि हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् ।

“अब हिउँद बर्षा दुबै खेती लगाउने समयमा नियमित रूपमा गाउँपालिकाले आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउने छ ।” शेर्पाले भन्नुभयोे ।

यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार यो मल उपलब्ध गराउन लागेको हो ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन । स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २३०० मा वडा वडामा वितरण गरिने शेर्पाले बताउनुभयो ।

कृषि उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पाको भनाई छ ।

उहाँले रासायनिक मलमा अनुदानको अलावा आगामी बर्षदेखि कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत ब्यवस्थापन गरिदिने बताउनुभयो ।

गुणस्तरीय कामका लागि दबाब
खाडीचौर जिरी सडकको एक किलोबाट नेपाल बिद्युत प्राधिकरण जाने सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

कालोपत्रे गर्ने नाममा झारा टार्ने काम मात्र भएको भन्दै स्थानीय प्याराडाइज यूवा क्लवको अगुवाइमा स्थानीय यूवाहरु गुणस्तरीय कामका लागि सडकमा उत्रिएका हुन् ।

नेपाल बिद्युत प्राधिकरणले केही महिना अघि यो सडक कालोपत्रेका लागि टेण्डर आव्हान गरि सन्तोष निर्माण सेवालाई ठेक्का दिएको थियो ।

ठेक्का लिएको लामो समयपछि काम सुरु भएपनि गुणस्तरीय काम नभएको भन्दै स्थानीय बिरोधमा उत्रिए । झारा टारेर पैसा सक्ने काम नहोस्, गुणस्तरीय काम हुनुपर्छ भनेका हौं, प्याराडाईज यूवा क्लवका अध्यक्ष अनुप बस्नेतले भन्नुभयो । राजनीतिक दवावमा गुणस्तरहिन काम हुन नदिने स्थानीय बताउँछन् ।

राजनीतिक दवाब र मिलेमतोमा ठेक्का दिइएको र गुणस्तरीय काम नभएको स्थानीय यूवा शशी केसीले सुनाउनुभयो । लौ हेर्नुस्, यस्तो पनि पिच हुन्छ ?, अलकत्रा छर्केर कालोपत्रे राख्न लागिएको सडक उप्काउँदै शशी भन्दै हुनुहुन्थ्यो ।

झमझम पानी परिरहेका बेलामा पनि कालोपत्रे बिछ्याइएको भन्दै अर्का स्थानीय शरद कार्कीले आक्रोश पोख्नुभयोे । आँखामा छारो हाल्ने काम नहोस्, गूणस्तरीय काम भएन भने हामी भत्काइदिनेछौं, उहाँले भन्नुभयो ।

कालोपत्रेको काम पाएको सन्तोष निर्माण सेवाका प्रोपाइटर मिठु बोहोरा भने आफुले गुणस्तरीय काम गर्ने बताउनुभयो । छारो,धुलो उड्छ भनेर मेसिन लगाइएन, पटक पटक झाडु लगाइएको छ, बोहोराले भन्नुभयो । उहाँले कमी कमजोरी भएका ठाउँमा सुधार गर्दै काम अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button