मकवानपुर गढी गाउँपालिकाद्वारा बाँझो जग्गा उपयोगमा ल्याउन अनुदानको व्यवस्था

मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले बाँझो जग्गा उपयोगमा ल्याउनका लागि अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले भु–उपयोग सम्बन्धी कार्यबिधि नै तयार पारेर बनाएर बाँझो जग्गा उपयोगमा ल्याउन अनुदान उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले खेतीपाती गर्न तथा पशुपालन गर्न प्रेरित गर्ने उद्देश्यले पालिकाले भु–उपयोग कार्यविधि संशोधन गरेर कार्यान्वयनमा ल्याएको अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनुभयो ।
बिश्वब्यापी फैलिएको कोरोना संकमणका कारण उत्पन्न हुन सक्ने खाध्य संकटको जोखिम न्युनिकरण गर्न कृषि उत्पादन बढाउन बाँझो जग्गामा खेती गर्ने तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा गाउँपालिकाका भन्दा बाहिर रहेका वा बिदेशबाट फर्किएका एवम् वैदेशिक रोजगारीमा जाने तयारिमा रहेका एक सय जना बिपन्न युवाहरु तालिमसहित कृषि र पशुपालनका लागि प्रोत्साहन स्वरुप बीउ र पुँजी सहयोग कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले आँप, कटहर, सुन्तला कागतीलगायतका फलफुल खेती गर्नेेलाई प्रति रोपनी दुई हजार रुपैयाँ, बाँझो जग्गामा अन्नबाली, तरकारीबाली, नगदेबाली, मसलेदार खेति गर्नेलाई प्रति रोपनी दुई हजार पाँच सय रुपैयाँ, विपन्न परिवारले लिजमा लिएको जमिनमा अन्नबाली, तरकारी बाली, फलफुल तथा मसलाजन्य खेती गरेमा प्रति रोपनी तीन हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
साथै गाउँपालिकाले बाँझो रहेको आफ्ना जग्गा वा लिजमा लिएको जग्गामा सुधारिएको खोर वा गोठ निर्माण गरि घाँस लगाई व्यवसायिक पशुपालन गरेमा प्रति रोपनी तिन हजारका दरले अनुदान रकम उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै बाँझो रहेको आफ्ना जग्गामा ३० वटा बाख्रा वा ५ वटा गाई वा भैंसी तथा १० वटा बंगुर पाल्ने गरी गर्न एक लाख रुपैयाँसम्म, माछा पालन गर्न पोखरी बनाउन प्रतिरोपनी १५ हजार, मौरी पालन गर्ने किसानलाई प्रतिघार पाँच हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने अध्यक्ष हुमागाईले बताउनुभयो ।
साथै ब्यवसायिक जडिबुटी खेति गर्नका लागि प्रति रोपनी पाँच हजार र सामुहिक खेति गर्न चाहानेहरुको लागि समेत गाउँपालिकाले राहतको योजना ल्याएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्