तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा विस्फोटक पदार्थ पट्किदा एक जना बालक घाइते

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा बिष्फोटक पदार्थ पट्किदा एक जना बालक घाइते भएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा पट्किएपछि घाइते भएका हुन् ।

बुधबार शान्तिटोलमा खेल्न गएका बालक महेन्द्रले नौँलो बस्तु फेला पारेपछि समातेर ल्याउन खोज्दा पट्किएको महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले बताउनु भएको छ ।

उहाँका अनुसार बालकका दुवै हातमा गम्भीर चोट लागेको र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

स्थानीयका अनुसार, जंगली जनावर र माछा मार्न समेत सहज हुनेगरी उक्त क्षेत्रमा शिकारीले परम्परागत पट्किने बस्तु राख्ने गरेका छन् । जंगली जनावरलाई उक्त बस्तु खान दिएर चपाउने क्रममा मुखभित्रै पट्किने गरी तयारी अवस्थामा शिकारीले राखेको हुनसक्ने आशंका गरिएको छ । तर, प्रहरी र सेनाले भने कसले किन के उद्देश्यका लागि उक्त बस्तु त्यहाँ ल्याएर राखेको भन्ने विषयमा अनुसन्धान थालेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभई लो एक्सक्लोसिप बस्तु भएको बताउनुभयो । प्रवक्ता पौडेलले घटनाको अनुसन्धान भइरहेको र उक्त बस्तु राख्ने समुह तथा व्यक्तिको खोजिकार्य भइरहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button