तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जका थप ९ मा कोरोना सङ्क्रमण

बाँके । बाँकेको नेपालगञ्जमा आज थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सञ्चालित भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर)मा परीक्षणका क्रममा तिनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जमा भेटिएका सङ्क्रमितमा पाँच महिला र चार पुरुष छन् । यससँगै नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । यसअघि शुक्रबार पहिलो पटक एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ फेला परेको थियो । ‘परीक्षण भएका ३० रिपोर्टमध्ये ९ मा पोजेटिभ भेटिएको हो, अरु जाँच गर्दैछौँ’, श्रेष्ठले रासससँग भन्नुभयो, ‘धेरै सङ्ख्यामा रहेकोले रिपोर्ट तयार गर्न समय लागिरहेको छ ।’

सङ्क्रमण पुष्टि भएका व्यक्तिको खोजी गरी कोरोना आइसोलेशन अस्पतालमा उपचारका लागि पठाउने तयारी गरिएको छ । उहाँले शनिबार कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताउनुभयो ।

शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो ।

सङ्क्रमितका परिवार र नजीकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसको एकान्तबासमा राखिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button