झुला घाट नाकाबाट उद्धार गरी ल्याइएका एक नेपालीको मृत्यु

बैतडी । भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको आज बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए ।
एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।
उनको आज बिहान बाटोमा हिड्दा हिड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।
मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको उहाँले बताउनुभयो । मृतक लुहारको शवलाई प्लास्टिक बेरेर सुरक्षात्मक तरीकाले दाह संस्कारका लागि आफन्तहरुलाई भनेको पनि कुँवरले जानकारी दिनुभयो ।
लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिनुभयो ।
यही बैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार छ सय ९५ नेपाली स्वदेश फर्किएका थिए ।
उनीहरु मध्ये आठ ४८ जना पुर्चौंडी नगरपालिकाका छन् । भारतबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्