एनआरएनए अमेरिका क्षेत्रीय बैठक सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठक कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्दै सम्पन्न भएको छ ।
बिहीवार टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् विश्वभर राहतका कार्यक्रम गरिरहेको र सबैभन्दा ठूलो समस्यामा विद्यार्थी र श्रमिक परेको बताउनु भयो ।
उहाँले कोरोना संक्रमणको कारण ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र २५ सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएको जानकारी दिनु भयो ।
क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि सुरु गरेको महामारीको अवस्थामा दुतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइएको बताउनु भयो ।
संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले महामारीपछि अमेरिकामा रहेका विद्यार्थीलगायत नेपाली समुदायमा मुख्य समस्या रहेकोले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढेको बताउनु भयो ।
संघका महासचिव डा. हेमराज शर्माले महामारीविरुद्ध लड्न एकजनाको प्रयासले मात्र सम्भव नहुने भएकाले विभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदल मार्फत काम थाल्न जोड दिनु भयो ।
महासचिव डा. शर्माले संघले कोरोना भाइरस प्रभावित ४५ देशमा ९ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत बाँढेको बताउनु भयो ।
बैठकमा संघकी उपाध्यक्ष रविना थापा, संघका सचिव गौरीराज जोशी आइसीसी सल्लाहकार हरिबोल भण्डारी, (एनआरएनए) अमेरिका अध्यक्ष सुनिल शाह,अनरी काउन्सिलर तथा चर्चित गायक प्रेमराजा महत लगायतले कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीहरु सबै पक्षसँग मिलेर राहत वितरण तथा सहयोगमा लाग्न जोड दिनु भएको थियो ।
बैठकमा एनआरएनए हेल्थ समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७ सय ५० र क्यानडामा १ सय ६० जना गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिएको जानकारी दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्