तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरमा जानकी नवमी पर्व : विशेष पूजापाठ गरी मनाइँदै

जनकपुरधाम । वैशाख शुक्लपक्ष नवमी तीथिका दिन जनकपुरमा भव्य रुपमा मनाइदै आएको माता जानकीको जन्म दिवस यस पटक पनि बिशेष पुजापाठको आयोजना गरेर आज मनाइदै छ ।

यस पटक घर घरमा नै आरती तथा दिपोत्सव गरेर मनाउनका लागि जानकी मन्दिर व्यस्थापनले आग्रह गरेपछि सोही अनुसार सर्वसाधारणले पूजापाठ गरि यो पर्व मनाइदै छ । यस पटक नवमी तीथि आज दिन र रात तथा भोली बिहानसम्म मात्र रहेकाले आज मनार्ईदैछ ।

व्यक्तिगत दूरी कायम गरेर जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुषसागर तथा दुग्धमतीमा श्रद्धालु भक्तजनहरुले आज विहानदेखि स्नान गरेर घर घरमा नै जानकी नवमी पर्व मनाउदैछन् । कतिपयले आजका दिन उपवास पनि गर्ने चलन पनि रहेको छ ।

जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णले कोरोना महामारीको त्रासबाट मुक्तिको कामनासहित जानकी नवमीको अवसर पारेर वैशाख १२ गते देखि २० गतेसम्म घर घरमा प्रत्येक दिन आरती तथा बैशाख २० गते देशबासीलाई दिपावली महोत्सव मनाउनका लागि आह्वाहन गर्नु भएको छ ।

वैशाख शुक्लपक्ष नवमी तीथिका दिन तत्कालिन मिथिलाका राजा जनकको पुत्रिका रुपमा माता जानकी धर्तीबाट अवतरित भएको स्मणमा प्रत्येक बर्ष जनकपुरसहित देशका विभिन्न भागमा जानकी वा सीता जयन्ती विभिन्न धार्मिक अनुष्ठानहरुको आयोजना गरेर भव्य रुपमा मनाउदै आइएको थियो । यस पटक भने कोरोना भाइरसको महामारीका कारण पूजापाठ मात्र गरि मनाउने कार्य भइरहेको छ ।

यस पटक जानकी मन्दिरमा महन्थ तथा पूँजारीहरुकाबीचमा नै नौ दिनसम्म जानकी नवमी पर्व विना भिडभाड मनाउन कार्यको भइरहेको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

आदर्श नारी, आदि शक्तिको रुपमा वाल्मिकी रामायणमा माता सीताको वर्णन गरिएको छ । शिवको पिनाक धनुषलाई बायाँ हातले उचालेकाले माता सीतालाई वीर तथा योद्धा नारीको रुपमा चिनिने गरिएको छ । जून धनुषलाई मर्यादा पुरुषोत्तम श्रीराम बाहेक विश्वका ठूला ठूला योद्धाहरुले हलाउन पनि नसकेको रामायणमा उल्लेख गरिएको छ ।

यस पटक जानकी नवमी कोरोना महामारीको अन्त्य तथा विश्व मानव कल्याणका लागि हरेकले आ–आफ्नो घर घरमा नै मनाएर यसको महिमा तथा गरिमालाई अक्षुण राख्नका लागि सम्पूर्ण देशवासीहरुमा आग्रह गरिएको छ ।

विगत वर्षहरुमा नौ दिनसम्म विविध धार्मिक कार्यक्रमहरुको आयोजना गरेर भव्य रुपमा नै जानकी नवमी महामहोत्सव मनाइदै आइएको थियो ।

यस पटक देशमा कोरोनाको महामारी फैलिनबाट रोक्नका लागि गरिएको लकडाउनका कारणले भिडभाड गर्ने तथा जम्मा हुने अवस्था नभएकाले नै घर घरमा मनाउनका लागि सबैमा आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button