लक डाउनमा किसानको डायरीः माटोको सुगन्धमा मौसमको भय
दोलखा । खरीढुङ्गालाई फेरो पारेर बादलको एक झुण्ड मकैबारी तिर वत्तासीदै माथि आकाश ढाकेपछि बारीको डिलमा सागको मुठा कस्दै गरेका कृष्ण तमाङ झस्कीएका छन् ।
ओ हो ! पानी पो झर्छ की । मनमा चिसो पसेको छ कृष्णको । तीन चार जना दिदी बैनी साग टिप्न ब्यस्त छन् बारीमा । अनि संगै उभिएका छन् तरकारीका होलसेल ब्यवसायी रामचन्द्र सुवेदी । पानी नै परेपनि उनले आईतवारको बिहानी दुई कान्लामा लहराएको साग टिप्नै पर्ने बाध्यता छ । किनभने संगै उभिएका रामचन्द्रले लरी बोलाई सकेका छन् काठमाडौँ कालिमाटी तरकारी बजारमा साग पुर्याउन ।
कोरोना संक्रमणको भयले सिंगो नेपाल लक डाउन भएपनि किसानहरुको दैनिकीमा खासै परिर्वतन देखिएको छैन् । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका किसानहरुको दैनिकी त झन ब्यस्त बनेको छ ।
चैत्र बैशाखको रायोको साग र काउलीको सिजनले मकैबारीका किसानहरुको दैनिकी ब्यस्त बनाई दिएको हो । किसानहरुलाई चिन्ता भने एउटै कुराको छ, लक डाउनका कारण तरकारीको मूल्य नै आउन सकेन ।
१८–२० वर्ष अघिसम्म मकैबारीका जमिनमा पातला घरहरु र मौसम अनुसार मकै तथा आलुमात्र देख्न सकिन्थ्यो । त्यही पनि व्यवसायीक हैन व्यक्तिगत प्रयोगको लागिमात्र । २०६० सालबाट भने मकैवारीका किसानहरुले व्यवसायीक तरकारी खेती सुरु गरेर कालिमाटीको तरकारी बजारमा वार्षिक ६ करोड भन्दा बढीको तरकारी निर्यात गर्दै आएका छन् ।
धादिङ स्थाई घर भएका रामचन्द्र सुवेदीको लक डाउन दैनिकी पनि मकैबारीका किसानहरुको तरकारी बारीमा फेरो लाउदैमा वित्ने गरेको छ । आकाशले रङ्ग फेरेर बादलसंग लुकामारी गर्दा रामचन्द्रको मनमा चिसो पस्ने गर्छ । अझ उनलाई त मौसमको परिर्वतनले असिनालाई निम्तो दिने हो की भन्ने भय धेरै हुदो रहेछ ।
सागको पात तन्कदै गर्दा र काउलीमा फुल फक्रदै गर्दा किसानहरु संग मोलमोलाई सकिसक्ने रामचन्द्रलाई असिना पानीले काउली र सागलाई नोक्सान गर्छ की भन्ने चिन्ता लाग्नु स्वभाविक नै हो ।
त्यसो त मकैबारीमा तरकारीको मोलमोलाई गर्न रामचन्द्र जस्ता धेरै होलसेल व्यवसायी बारीका कान्ला उक्लदै र घरका ढोका ढकढकाउदै किसानहरु लाई फुल्याउन पुग्ने गरेका छन् । तर १५ बर्ष देखि मकैवारीको जमिनमा लह लह बनेका साग र काउलीको फुलमा आफ्नो खुशी साट्न ब्यस्त बनेका रामचन्द्रलाई हरेक घरका पेटी र बारीका कान्लाहरुले चिनिसकेका छन् ।
चरिकोटबाट मूडे र खाडीचौरको उकाली ओरालीमा सुमोको गिएर बदल्दै यात्रुसंग गफिएर काठमाडौँ हुईकीने दैनिकी छोडेर केहि बर्ष देखि आफ्नै घर आगनमा फक्रिएका काउली र सागसंग दौतरी गाँस्न ब्यस्त पप्पु तमाङ भन्दै थिए – रामचन्द्र जी त अधँेरोमा पनि मकैबारीका सबै कान्ला उक्लन सक्ने भै सकेका छन् ।
व्यवसायमा बाठा रामचन्द्र सिजन अनुसार धादिङ, दोलखा लगायतका जिल्लाबाट कालिमाटीको लागि तरकारी बटुल्ने गर्छन । मकैबारीबाट चैत्र बैशाखमा मात्र झण्डै ढेड दुई करोडको साग कालिमाटी पुर्याउने गरेको सुनाउदा रामचन्द्रको मुहारमा छुट्टै चमक र खुशी देख्न सकिन्थ्यो ।
मकैबारीको जमिनमा माटो खोस्रदै मौसम अनुसारका तरकारीसंग रमाउन अव्यस्त चन्द्रबहादुर तमाङको आधि उमेर आकाशमा दौडने बादलको रुप र रङ्ग हेर्दै अनुहारको भाव बदल्दैमा वितेको छ । पानी नपरे पनि चिन्ता, धेरै परे पनि चिन्ता, असिना पर्दा नी चिन्ता, हिउँ नपर्दा नी चिन्ता चन्द्रबहादुरले सुनाए – तर यहि दैनिकी हामीलाई प्यारो भइसकेको छ ।
चन्द्रबहादुरले १५–२० रोपनी जमिनमा तरकारी खेती गरेका छन् । सिंगो मकैबारीमा झण्डै तीन सय रोपनी जमिनमा तरकारी खेती हुदै आएको चन्द्रबहादुर बताउछन् ।
मकैबारीमा सिजन अनुसार रायोको साग, काउली, बन्दा, आलु, गाँजर, भेडे खोर्सानी, कालो भेन्टा लगायतका तरकारी उत्पादन हुदै आएका छन् ।
लक डाउनले सहरीया भएका धेरै आफन्तलाई गाँउमा फर्काएको छ । बाँझो जमिनमा यो पटक कुटी र कोदालीका चोट तथा पानीका थोपाहरु बर्सिएका छन् ।
किसानको मेहेनत र मौसमको मेहेरवानीले साग र काउलीको हरियाली अनि आलुको बोटमा देखिएका बैजनी फुलले धेरै चन्द्रबहादुरहरुलाई पुलकीत बनाउने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्