दोलखामा ११ हजार बढी भित्रिए, सबैको स्वास्थ्य परिक्षण हुँदै
दोलखा । लक डाउनको अवधिमा ११ हजार भन्दा बढी मानिस काठमाडौँबाट दोलखा भित्रिएको प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यसरी भित्रिएका नागरिकलाई अहिले स्थानिय तहहरुले धमाधम स्वास्थ्य परिक्षण गरिरहेको छ ।
जिल्लामा लक डाउनको अवधिमा काठमाडौँबाट ११ हजार भन्दा बढी दोलखाली आएको तथ्याङ्कबाट देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो ।
लक डाउनकै अवधिमा बिभिन्न जिल्लाबाट मजदुरी गर्न आएका दुई हजार भन्दा बढी नागरिकलाई उद्दार गरी सम्बन्धित जिल्लामा पठाईएको पनि प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, दुई नगरपालिका र सात गाँउपालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकले लक डाउनको अवधिमा जिल्ला भित्रिएका नागरिकहरुको अभियानकै रुपमा स्वास्थ्य जाँच गर्ने निर्णय गरेपछि अहिले स्थानिय तहहरुले धमाधम उनीहरुको स्वास्थ्य जाँच गरिरहेका छन् ।
दोलखाको गौरीशङ्कर गाँउपालिकाले एक साताको अवधिमा काठमाडौँबाट गाँउमा फर्किएका नागरिकको स्वास्थ्य परिक्षण गरेको गाँउपालिका प्रमुख स्वयम बहादुर खड्काले बताउनु भयो ।
गौरीशङ्कर गाँउपालिकाको सबै वडाहरुमा विदेशबाट आएका नागरिकको स्वास्थ्य जाँच सम्पन्न भएको र सबैलाई १४ दिनसम्म होम क्वारेन्टीनमा बस्न अनुरोध गरिएको प्रमुख खड्काले बताउनु भयो ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ मा पनि लक डाउनको अवधिमा काठमाडौँबाट आएका एक सय ४२ जनाको स्वास्थ्य परिक्षण गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष मोहनसिंह तमाङले बताउनु भयो ।
जिरी नगरपालिकाले पनि जिरी अस्पताल, नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र मार्फत काठमाडौँबाट आएका नागरिकहरुको स्वास्थ्य परिक्षण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनु भयो ।
बैतेश्वर गाँउपालिकाको वडा नम्बर ७ मा काठमाडौँबाट आएका एक सय ६७ जनाको स्वास्थ्य गरी घरमै सुरक्षितसंग बस्न अनुरोध गरेर पठाईएको वडा अध्यक्ष रेशम रिमालले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्