तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका ३३ को स्वाब परीक्षण हुँदै

बीरगंज । बीरगंजमा समुदायमा पुगेको दोश्रो कोरोना संक्रमित व्यक्तिको रुपमा बीरगञ्ज महानगरपालिकाका सफाइकर्मी भेटिएपछि उनको सम्पर्कमा आएका बीरगंजका ३३ जनाको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि हेटौडा पठाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएसँगै उनको ट्राभल हिष्ट्रिको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यायले बताउनुभयो ।

पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरि परिक्षणका लागि हेटौडा पठाइएको उपाध्यायले बताउनुभयो ।

कोभिड–१९ संक्रमणको पुष्टि भए लगत्तै महानगरपालिकाका सरसफाईकर्मीका परिवारका सदस्य तथा नगरपालिकाको वडा नम्बर ३ का वडा सदस्य र स्थानिय वासिन्दा गरी १६ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बीरगंजस्थित नारायणी अस्पतालको आईसोलेशनमा अहिले पर्साका दुईसहित सर्लाहीको एक गरि तीन जना संक्रमित रहेका छन् ।

छपकैयामा नगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि एक सय १९ जना महिलासहित तीन सय २१ जनालाई होम क्वारेन्टाइनमा राखिएको र पर्सा जिल्लामा अहिले ठाकुरराम क्याम्पस आदर्शनगर, सिद्धार्थ मावि चिनी मिलस्थित क्वारेन्टाइनमा १४ महिलासहित दुई सय ३५ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button