गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति

मेलम्ची । पाँचपोखरी थाङ्पाल गाँउपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ ।
स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यन्न परिपुर्ति गर्ने योजना अनुसार गाउँपालिकाले खाद्यन्न प्रवेशमा रोक लगाएको पालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
स्थानीय जनताले हामी जे जस्तो छ त्यही खाएर बाँच्छौ खाद्य तथा मासुजन्य सामाग्री भित्रदाँ जोखिम बढ्ने बताएपछि यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाँले स्थानीयले पालिका सीमानामा कडाइ गर्न आग्रह गरेपछि हेल्थ डेक्स निर्माण गरि सीमा प्रवेशमा कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको बताउनुभयो ।
खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो । जिल्लाको विकट हिमाली क्षेत्रको रुपमा चिनिने पाँचपोखरी थाङ्पाल गाँउपालिकाले कोरोना भाइरस संक्रमण विरुद्ध महत्वपुर्ण योजना कार्यान्वयनमा लागेको हो ।
‘बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ ’, गाउँपालिका अध्यक्ष लामाले भन्नुभयोे, ‘विदेशबाट गााउपालिका भित्रने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ ।’ उहाँले दीर्घरोगीलाई घरमा औषधी पुर्याउने काम गाँउपालिकाले सुरु गरेको पनि उल्लेख गर्नुभयो ।
‘विदेशबाट आउनेको लगत संकलनमा गर्यौ र उनीहरुको परिवारलाई समेत बिशेष निगरानीमा राख्यौ’, लामाले भन्नुभयो । उनीहरुको स्वास्थ्य जाँचका लागि जनप्रतिनिधि स्वास्थ्यकर्मी र औषधिसहित घर–घरमा पुगेका छन् ।
स्थानीयस्तरमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । तर त्यहाँ अहिलेसम्म कोही बसेका छैनन् । तिपेनीको क्षेत्र पालेश्वरीमा २० बेडको क्वारेन्टाइन निर्माण गरेता पनि गाउपालिकाले क्षेत्रीय क्वारेन्टाइनलाई विशेष प्राथमिकता दिएको छ । सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टान नै उपयुक्त हुने पालिका अध्यक्षलामाको विश्वास छ ।
विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले सचेतना कार्यक्रम चलाउँदैं फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ ।
स्वास्थ्य चौकी छेउछाउको चोक–चोकमा औषधि छर्किएको छ । गाउँपालिकाभित्र आठवटा स्वास्थ्य चौकी, ६ वटा वर्थिङ सेन्टर, दुई वटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्थाले अहोरात्र काम गरेको पालिकाले जनाएको छ ।
पालिकाले ठूलो संख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका एक सय ५० मजदुरलाई घर फर्काइएको छ । बाँकीलाई तथ्याकं संकलन गरेर खाद्यसामाग्रीको व्यवस्थापन गरिएको पालिकाले जनाएको छ ।
खान नपाउने नपुग्ने नागरिकको तथ्याकं संकलन भइरहेको उहाँले बताउनुभयो । तथ्याकं आएपछि उनीहरुलाई राहत दिने तयारीमा जुटेको अध्यक्ष लामाले बताउनुभयो । विपद् व्यवस्थापन कोषको आकार बढाउन खोजिएको उहाँले बताउनुभयो । उहाँले अन्य शीर्षकबाट केही रकम रकमान्तर गरी कोरोना संक्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्नेे बताउनुभयो ।
पालिकाले गर्भवती र दीर्घरोगीलाई असहज हुन नदिन उनीहरुको तथ्याकं संकलन गरी आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहेको पालिकाले जनाएको छ ।
दीर्घरोगीहरुको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ ।
उहाँले प्रत्येक नागरिकको स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउन केन्द्र सरकारलाई सुझाउनुभएको छ । ‘शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ ।’ अध्यक्ष लामाले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्