सतर्कता अपनाउँदै केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्नु पर्नेमा जोड

भक्तपुर । भक्तपुर जिल्लामा कोभिड–१९बाट बच्न उच्च सतर्कता अपनाउँदै केही प्राथमिकतामा रहेका व्यवसाय तथा उच्च प्राथमिकता प्राप्त विकास निर्माणका काम सुचारु गर्नु पर्ने बारे छलफल सुरु भएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको एकिकृत छलफलमा सरोकारवालले यस बारे सुझाब दिएका हुन् ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेतले खाद्यन्न आपुर्ति, कृषिको काम र बिकासका सन्दर्भमा आसपासका जिल्लामा समेत समन्वय गरेर सहजीकरण गनुपर्ने बताउनुभयो ।
त्यसका लागि सहजीकरण गर्न सरोकारवालासहितकोे समिति बनाउनु पर्ने बताउँदै पुर्व उद्योग मन्त्रीसमेत रहेका सांसद बस्नेतले यदि खाद्य, कृषि र प्राथकिमता प्राप्त उद्योग व्यवसायको काम लामो समय अवरुद्ध भए देश थेग्नै नसक्ने आर्थिक मन्दिमा पर्ने तर्फ सचेत गराउनुभयो ।
कर्यक्रममा बागमति प्रदेशका सांसद शशिजंग थापाले उत्पादनमा जोड दिनुपर्ने बताउँदै कसैलाई जमिन बाँझो राख्न दिन नहुने र कृषकलाई बिउ मल उपलब्ध गराउनका लागि बजेट छुट्टयाउनु पर्ने बताउनुभयो ।
प्रदेश सांसद डा.राजेन्द्रमा श्रेष्ठले कोभिड–१९ बाट बच्न उच्च सतर्कता अपनाएर केही व्यावसाय तथा विकास निर्माणका काम सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सांसद कृष्ण्लाल भँडेल र रजनी जोन्छेले कतिपय ठाउँमा राहत बितरण र मल बिउ बितरणमा भेदभाव गरिएको गुनासो गर्नुभयो ।
प्रदेश सांसद सरस्वती बाटीले अब आत्मनिर्भर आर्थिक प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर आसपासका जिल्ला काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक र धादिङसँग समन्वय गर्दै कृषि सामग्री केन्द्रमार्फत कृषकका लागि मल बिउको सहजीकरणका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले जिल्लामा कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउन, आपुर्ति सहज गर्न, अभाव र कालोबजारी नियन्त्रण गर्न र बिकास निर्माणमा सहजीकरण गर्न बैठक राखिएको बताउनुभयो ।
मध्यपुर थिमिका नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले लकडाउनलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिंदै बिकासका नाममा उपत्यका बाहिर गएकालाई तत्काल भित्र आउन दिन नहुने बताउनुभयो ।
सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले सुर्यबिनायक नगरपालिकाले जमिन बाँझो राख्न नपाइने नीति अघि सारिसकेको बताउँदै सुर्यबिनायक नगरपालिकाले नगरपालिका अन्तर्गतका ९५ प्रतिशत बिकासका काम सम्पन्न गरिसकेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले खाद्यान्न तथा मल बिउको अभाव र महँगी हुन नदिन बिशेष पहलकदमी आवश्यक रहेको बताँउदै कमलबिनायक नगरकोट सडकको काम सुचारु गर्न जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कतिपय आरोह अवरोह र जनआक्रोशका बीच कोरोना भाइरस नियन्त्रण र लकडाउनलाई सबैको सहयोगमा प्रभावकारी रुपमा जिल्लामा कार्यान्वय गरिएको बताउनुभयो ।
अन्य जिल्लासँग समन्वय र सरकारले दिएको निर्देशनको पालना गर्दै आएका सुझावलाई कार्यान्वयन गर्न आफु निरन्तर सकृय रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले डिआईएफडीको रु.एक करोड सहयोगमा अस्पतालले दश दिनमा कोभिड–१९ उपचारको लागि छुट्टै ब्लक निर्माण गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुर जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमित नभेटिएको बताउँदै यसको नियन्त्रणका लागि जिल्लाका बिभिन्न अस्पतालले गरेको तयारी बारे बताउनुभयो ।
रेडक्रसका जिल्ला सभापति मनोज थापाले रेडक्रसले ६ महिनाको लागि बिपद् प्रतिकार्य योजना बनाइरहेको बताउँदै रगतको अभाव हुन नदिन घरदैलोमा गएर संकलन अभियान चलाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष राजकुमार बस्ताकोटी, गैरसरकारी संस्था महासंघका सोम शर्मा बजगाईं, उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी , जिल्ला समन्वय अधिकारी रघुनाथ लामिछाने लगायतले आआफ्नो बिचार राख्नुभएको थियो ।
जिससको आयोजनामा भएको एकिकृत बैठकमा बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई ,राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोईराला, नेकपाका अध्यक्ष बचन देउजा लगायतको सहभागिता रहेपनि संघीय सांसद पे्रम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको भने सहभागिता थिएन ।






प्रतिक्रिया राख्नुहोस्