तपाईँ सुन्दै हुनुहुन्छः

एक्स–रे टेक्निसियन ढकालविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक खाताबाट अस्वाभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

निजको दुई करोड दुई हजार ८८६ रुपैयाँ ६५ पैसा सम्पत्तिको वैध स्रोत खुल्न नसकेको आयोगले जनाएको छ । टेक्निसियन ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चलअचल सम्पत्ति लुकाई राखेको पाइएको छ ।

निज ढकाललाई बिगो स्रोत नखुलेको रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी आयोगले आयातीत सामानको न्यून मूल्याङ्कन गरी नेपाल सरकारलाई प्राप्त हुने राजश्वमा हानि पुर्याएको आरोपमा मेची भन्सार कार्यालय काँकडभिट्टाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विक र जाँचकी नायब सुब्बा सनद खतिवडासहित सामान आयातकर्ता्विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ ३३ पैसा बिगो माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button