तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय मुद्रा कोष प्रतिवेदन सार्वजनिक, नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

कोषले वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.५ प्रतिशत र सन् २०२१ मा ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

आइएमएफको प्रक्षेपण अनुसार दक्षिण एशियाली देशहरुमध्ये नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ ।

कोषले दक्षिण एशियाको बंगलादेशको आर्थिक वृद्धिदर १ प्रतिशत, भुटानको २ प्रतिशत र भारतको १.९ प्रतिशत रहने र श्रीलंकाको वृद्धिदर ०.५ प्रतिशत र मालदिभ्सको ८.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

प्रतिवेदनमा आइएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले विश्वकै अर्थव्यवस्थाको वृद्धिदर ऋणात्मक भई माइनस ३ प्रतिशतसम्म हुने प्रक्षेपण गरिएको बताउनु भएको छ ।

सन् २०२० को जनवरीमा आइएमएफले नै विश्वको जिडिपी ३.३ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो तर त्यस विपरीत हाल ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको हो ।

कोरोनाको महामारीले विश्वको आर्थिक गतिविधि ठप्प भएकाले सन् २०२० मा विश्वका ठूला र विकसित भनिएका देशको अर्थतन्त्रको वृद्धिदर पनि ऋणात्मक हुने अनुमानसमेत आइएमएफले गरेको छ ।

आइएमएफको प्रतिवेदनका अनुसार यस वर्ष विकसित अर्थव्यवस्थाको सूचीमा रहेका धेरै देशहरुको वृद्धिदर ऋणात्मक रहने छ ।

कोरोनाको बढ्दो संकटले उत्पन्न खराब आर्थिक अवस्थासँग जुध्न एक सय ८९ सदस्य मुलुकमध्ये ९० भन्दा बढीले आर्थिक सहायता माग गरेको आइएमएफले जनाएको छ ।

हालको अवस्थाजस्तो गहिरो मन्दीको समयमा मानिसहरुको आयस्रोत गुम्ने र बेरोजगारी बढ्ने भएकाले गरिबी तथा असमानता बढ्नेसमेत कोषले जनाएको छ ।

हालको अवस्थाले गर्दा यूरोप क्षेत्रलाई सबैभन्दा बढी संकट देखिने र जिडिपी ७.५ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । इटाली र स्पेनको जिडिपी क्रमश : ९.१ प्रतिशत र ८ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै प्रतिवेदनले अमेरिकाको अर्थतन्त्र ऋणात्मक भै ५.९ प्रतिशतले, जापानको ५.२ प्रतिशत, बेलायतको ६.५ प्रतिशत, जर्मनीको ७ प्रतिशत र फ्रान्सको ७.२ रहने प्रक्षेपण पनि आइएमएफले गरेको छ ।

प्रतिवेदनमा कोषले कोरोनाको महामारीका कारण विश्व अर्थव्यवस्था नाजुक रहेको तथ्यांक प्रस्तुत गर्दै विश्वको अर्थव्यवस्था सन् १९३० को दशकको महामन्दीपछि यतिबेला सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको औल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button