७७ प्रतिशत गैरआवासीय नेपालीको स्वदेश फर्किने चाहना

काठमाडौं । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको गैर आवासीय नेपाली संघले जनाएको छ ।
संघले गत आइतबारदेखि सुरु गरेको २४ सै घन्टे हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशत गैर आवासीय नेपालीहरुले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रवन्ध गरिदिन आग्रह गरेको संघले जनाएको छ ।
हेल्पलाइनमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको र अधिकांश नेपालीले नेपाल फर्किन चाहाना राखेको पाइएको गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्माले जानकारी दिनुभयो ।
हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेको छ ।

सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेको जनाइएको छ ।
युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, बेलायत लगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपाएको महासचिव डा. शर्माले जानकारी दिनुभयो ।
विदेशबाट छुिट्टमा नेपाल आएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् ।
गैरआवासीय नेपालीबाट प्राप्त भएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्