क्वारेन्टाइनबाट फरार दुई जना नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट फरार भएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन्दरपुर कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा रहेका २३ जना मध्ये दुई जना गएराति २ः०० बजेतिर छतबाट हामफालेर भागेका थिए ।
बेदकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामसिंह धामीका अनुसार, दुबै जना बेदकोट नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् ।
दुबै जनालाई प्रहरी टोलीले खोजतलास गर्दा आफ्नै घर पछाडिको झाडीमा लुकिरहेको अवस्थामा आज बिहान ९ः०० बजे तिर नियन्त्रणमा लिएको हो ।
उनीहरु दुबै जनालाई ल्याएर पुनः सोही क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रबिन्द्र नाथ पौडेलले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका पाँच जना कोरोना संक्रमित मध्ये एक जना बेदकोट नगरपालिकाको सुन्दरपुर कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टाइनबाट गएका हुन् ।






प्रतिक्रिया राख्नुहोस्