११ स्थानमा तरकारी तथा फलफूल बजार सञ्चालनको प्रक्रिया शुरु
सरकारले काठमाडौका विभिन्न ११ स्थानहरुमा तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सरकारले नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिई काठमाडौ उपत्यकाको बल्खु तथा कालीमाली तरकारी तथा फलफूल बजारमा बढेको भिडभाडलाई व्यवस्थित गर्न काठमाडौका विभिन्न ११ स्थानबाट तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने निर्णय गरे बमोजिम सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख प्रकाश दाहालको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव सहित सम्बद्ध संस्था र व्यवसायीहरुको उपस्थितिमा बसेको बैठकमा त्यसतो सहमति भएको हो ।
कालीमाटी तरकारी तथा फलफूल थोक विक्री स्थलमा हालको परिस्थित एवं नागरिकको स्वास्थ्यलाई ध्यान दिई भिडभाड नहुने गरी तरकारी तथा फलफूलको थोक विक्री वितरण गर्ने व्यवस्था तरकारी तथा फलफूल विकास समितिले व्यवसायीहरुसँग समन्वय गरी मिलाउने र काठमाडौं महानगरपालिकाले सुरक्षा र आवश्यक पुर्वाधार निर्माण गर्ने सहमति भएको सहसचिव दाहालले जानकारी दिनु भयो ।
काठमाडौं महानगरपालिकाले कलंकी र स्वयमभुमा बजार सञ्चालनमा ल्याइसकेको र अन्य स्थानमा आवश्यक प्रवन्ध गरी बजार सञ्चालनमा ल्याउने जनाएको छ ।
बजार सञ्चालनका लागि तरकारी तथा फलफूल विकास समितिले व्यवसायीसँग आवश्यक समन्वय गर्ने सहमति भएको छ ।
आइतबारको बैठकमा काठमाडौं महानगरपालिकाले तोकिएका ११ वटा बिक्री स्थलमा बत्ती, खानेपानी, शौचालय जस्ता अत्यावश्यक पूर्वाधारको व्यवस्था गर्ने र स्थानीय प्रशासनले आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने सहमति समेत भएको थियो ।
सोही बैठकमा नेपाल कृषि सहकारी केन्द्रिय संघ र साना किसान लघु वित्त वित्तीय संस्थाले किसानले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल संकलन गरी काठमाडौं महानगरपालिकाले तोकेका ११ वटा बिक्री स्थल मध्ये आफूलाई पायक पर्ने स्थानबाट थोक विक्री वितरण र सम्भव भएसम्म मोवाइल भ्यान मार्फत उपभोक्तासम्म विक्री वितरण गर्ने समेत सहमति भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्