दार्चुलामा क्वारेन्टाइनमा बसेका नागरिकको स्वाब संकलन सुरु

दार्चुला । दार्चुला जिल्लामा क्वारेन्टइनमा बसेकाहरुको थ्रोट स्वाब संकरलन सुरु गरिएको छ । शनिवारदेखि जिल्लाका विभिन्न पालिकामा स्थापना भएका क्वारेन्टाइनमा बसेकाहरुको छ स्थानबाट स्वाब संकलन गरिन लागेको छ ।
कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलनको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली दार्चुला पुगेको छ ।
कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा स्वाब संकलनका लागि हेलकप्टर दार्चुला आएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
दार्चुलाका नौ वटै स्थानीय तहमा भारतलगायतबाट आएका व्यक्तिहरुको स्वाब संकलन गर्ने गरी तयारी गरिएको छ । जसअनुसार अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँको हिकिला र व्यास गाउँपालिकाको हुती, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलंगामा स्याब संकलन गरिन लागेको हो ।
शनिबार बिहान ९ः३० बजे हेलिकप्टरबाट आएको स्वास्थ्यकर्मीको टोलीले गोकुलेश्वर र लटिनाथमा संकलन गरी सकेको छ भने अहिले महाकाली नगरपालिकाको खलंगामा संकलन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारत लगायतका ठाउँबाट दार्चुलामा एक हजार चार सय सात जना भित्रिएको तथ्यांक छ ।
जिल्लामा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेर समेत मजदुरहरु घर फर्किएका छन् । तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्यांक भने समेटिएका छैन् ।
जिल्लामा शुक्रबारसम्म दुई सय ८० जना क्वारेन्टाइनमा बसेका छन् ।








प्रतिक्रिया राख्नुहोस्