लकडाउनमा झापाका वनमा प्रवेश गर्नेलाई कारवाही गरिने

भद्रपुर, झापा । जिल्ला डिभिजन वन कार्यालय झापाले लकडाउनको समयमा झापाका बनजंगलमा प्रवेश गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
लकडाउनको मौका छोपी जिल्लाका वनहरूमा प्रवेश गरी आगो लगाउने, बन्यजन्तुको सिकार गर्ने र वन पैदावार काट्ने काम भइरहेको भन्दै कार्यालयले यस्तो कार्यमा संलग्न भएको पाइएमा वन ऐन अनुसार कारबाही गरिने जनाएको हो ।
कार्यालयले हिजो एक सूचना जारी गर्दै अवैध रुपमा केही व्यक्तिहरु झापाका विभिन्न वनजंगलभित्र प्रवेश गरी वनमा आगो लगाउने, वन्यजन्तुको सिकार गर्ने र वन पैदावार काट्ने काम गरिरहेको भन्ने जानकारीमा आएकोले सामुदायिक, कबुलियतलगायतका राष्ट्रिय वन क्षेत्रमा वन संरक्षणका अत्यावश्यक कामबाहेक सबैे कार्यमा बन्देज लगाएको उल्लेख गरेको छ ।
कार्यालय प्रमुख विष्णुलाल घिमिरेले कार्यालयले जारी गरेको स्ूचना उल्लंघन गर्दै वनभित्र गतिविधि गर्ने जोकसैलाई वन ऐन २०७६ अनुसार कारवाही गरिने जानकारी दिनुभयो ।
उहाँले जिल्लाका वन क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा योजना बनाई तत्काल कार्यान्वयन गर्न सबै सामुदायिक, कवुलियत वन र रेञ्जपोष्टहरुलाई निर्देशन दिइएको पनि जानकारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्